
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)को आयोजनामा ‘तेश्रो नेसनल स्पोर्टस फोरम’ सम्पन्न भएको छ ।
एनओसीले आयोजना गरेको स्पोर्टस फोरमको शुभारम्भ गर्दै प्रतिनिधी सभा सांसद तथा एनओसीका अध्यक्ष जिवनराम श्रेष्ठले ओलम्पिक अभियानलाई नेपाली जनमानस सम्म पुर्याउन फोरमले महत्वपूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“ओलम्पिक अभियानको महत्व नेपाली समाज कसरी लाभान्वित हुने सँगै खेलकुदलाई एकाकार रुपमा वुझ्न तथा प्रभावकारी बनाउन फोरमले भूमिका खेल्ने छ ।”

सिङ्गो ओलम्पिक अभियान कसरी अगाडी बढेको छ तथा खेल र मैदानको अवस्था मात्रै नभई विश्वमा ओलम्पिक अभियान मार्फत शान्ती, स्थिरता र विकासलाई समेत व्यापक बनाउन यसको महत्व अझै बढ्दै गएको अध्यक्ष श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवालले नेपालमा ओलम्पिक अभियानलाई अगाडी वढाउन स्पोर्टस फोरम सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिड १९ का कारण खेलकुद गतिविधी ठप्प रहेको अवस्थामा अव सात वटै प्रदेशबाट खेलकुद अभियान अगाडी वढाउने गरि राखेपले तयारी शुरु गरेको बताउनुभयो ।

कार्यक्रममा यूवा तथा खेलकुद मन्त्रालयका सचिब राम प्रसाद थपलिया, आइओसीका सदस्य च्युमिन रु, श्रीलंकन ओलम्पि कमिटीका महासचिब म्याक्सवेल डि सिल्भा, प्रोफेसर विएलएच परेरा लगाएत ९ जनाले ओलम्पिक मुल्य मान्यता सँगै ओलम्पिक अभियान, आर्थिक पारदर्शिता, सञ्चारमा खेलकुदको महत्व, कोभिड १९ महामारीका वेला खेलकुद सञ्चालन लगाएतका विषयमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा धन्यवाद व्यक्त गर्दै एनओसीका महासचिब निलेन्द्रराज श्रेष्ठले ओलम्पिक अभियानलाई सार्थकरुप दिन तथा खेलकुद संघ विच वलियो भाइचार सम्वन्ध विकासका लागि स्पोर्टस फोरमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सो अवसरमा एनओसीका उपाध्यक्ष तथा कार्यकारी प्रमुख चतुरानन्द राज वैद्य, एनओसीका मानार्थ अध्यक्ष तथा पूर्व अध्यक्षले समेत आ–आफ्ना धारणा राख्नुभएको थियो ।
एनओसीले स्पोर्टस फोरम विगत २०१७ र २०१९ मा समेत आयोजना गरेको थियो । कोभिड १९ का कारण यस पटकको स्पोर्टस फोरम भने भर्चुअल माध्यमद्वारा सम्पन्न भएको छ ।
