कोरोनाका कारण पोखरामा हुने अन्तर्राष्ट्रियस्तरका कराते र तेक्वान्दोका प्रतियोगिताहरु प्रभावित

केशव पाठक/पोखरा,
विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण पोखरामा हुने दुई ठूला मार्शल आर्टका खेलहरु प्रभावित भएका छन ।

यहि फागुन २० गते बाट हुन लागेको “प्रथम गौतम वुद्ध हिमालयन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता”  र २०७६ चैतको तेश्रो साता बाट आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको ‘जि १ तेक्वान्दो’ प्रतियोगिता समेत कोरोनाका कारण प्रभावित भएको हो ।

“प्रथम गौतम वुद्ध हिमालयन अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको” आयोजक नेपाल सितेरियो कराते संघले करिव चार महिना अघि बाट प्रतियोगिता पोखरामा आयोजनागर्ने भने पनि कोरोनाका कारण स्थगित गर्नु परेको नेपाल सितेरियो गण्डकी प्रदेशका संयोजक एवम वरिष्ठ प्रशिक्षक सुरेन्द्र गुरुङले बताए ।

यो प्रतियोगितामा करिव ५५ मुलुक बाट विभिन्न तौलमा गरि खेलाडी मात्रै १ हजार भन्दा वढी आउने तयारी रहेको संयोजक गुरुङले बताए । उनले भने–“हामीले सबै तयारी अन्तिम चरणमा पुर्याएका थियौं तर अन्ततः कोरोनाका कारण सबै प्रतियोगिता हालका लागि स्थगित गरेका छौं ।”

नेपाल भ्रमण वर्ष २०२० मनाउने संगै पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा परिचित गराउन यो प्रतियोगिताले भूमिका खेल्ने भए पनि कोरोनाका कारण स्थगित गर्नुपर्दा दुःख लागेको संयोजक गुरुङको भनाई थियो ।

हालका लागि प्रतियोगिता स्थगित भए पनि सोही मितीमा सितेरियो कराते संघले भने ग्रेण्डिङको कार्यक्रम गर्ने गरि तय गरेको छ । ६ डान सम्म गरिने ग्रेडिङमा नेपालका सात प्रदेश र ७७ जिल्ला बाट खेलाडीहरु पोखरा आउने संयोजक गुरुङले जानकारी दिए । उनले संघका केन्द्रिय अध्यक्ष दावा गुरुङ सहित पदाधिकारीहरु “इन्टरनेशनल टेक्निकल सेमिनार २०२०” कार्यक्रमलाई सफल बनाउन पोखरामा रहेको बताए ।

पोखरा रंगशाला स्थित बहुउद्धेश्यिय कभर्ड हलमा हुने उक्त ग्रेडिङमा विश्व सितेरियो कराते महासंघका अध्यक्ष लगाएत ग्राण्ड माष्टर सिनसेई इवाता गेञ्जो समेत पोखरा आउने कार्यक्रम तय भएको हो । उनीहरुले कराते खेलको टेक्निकल सेमीनार बाट जानकारी दिे तथा प्रशिक्षण गराउने छन ।

तेक्वान्दोको ‘जि १’ समेत प्रभावित
नेपाल तेक्वान्दो महासंघले यहि २०७६ चैतको तेश्रो साता बाट आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको जि १ तेक्वान्दो प्रतियोगिता समेत कोरोनाका कारण प्रभावित भएको छ ।

नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशको आयोजनामा अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले प्रतियोगिता पोखरामा गर्न अनुमती प्रदान गरेको भएपनि अन्तिम समयमा आएर सम्पुर्ण कार्यक्रमहरु स्थगित गर्नु परेको संघका अध्यक्ष जगन गुरुङले जानकारी दिएका छन ।

उक्त प्रतियोगितामा ४५ देशका करिब १ हजार २ सय खेलाडी पोखरा आउने करिव तय भए पनि कार्यक्रम हालका लागि स्थगित गरिएको अध्यक्ष गुरुङले बताए । “अहिलेको फरक परिस्थितीका कारण हामीले प्रतियोगिता सार्न बाध्य भएका छौं” उनले भने–“समय अनुकुल भएपछि विश्व तेक्वान्दो महासंघले नयाँ क्यालेण्डर प्रकाशित गर्छ त्यसपछि कार्यक्रमको मिती तय हुन्छ ।”

नेपालमा हुन लागेको यो तेक्वान्दो प्रतियोगिता विशेष हाल सम्मकै ठूलो प्रतियोगिता भए पनि कोरोनका कारण प्रभावित भएकोले आयोजक समेत निराश भएका छन । यि प्रतियोगिताहरु आयोजना भएको भए पोखरामा विभिन्न देशका खेलाडी सहित ३ हजार भन्दा बढी पर्यटकहरु खेलका लागि पोखरा आउने निश्चित थियो ।

पोखरामा सम्पन्न विश्व प्याराग्लाइडिङ वर्ल्ड कपमा समेत १० देशका करिव ४० जनाले कोरोनाका कारण अन्तिम समयमा आएर प्रतियोगिता बाट नाम फिर्ता लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close