आहा रारा गोल्डकप : थ्रि स्टार फाइनलमा एपिएफ बाहिरियो

पोखरा, १५ फागुन ।
दर्शन थ्रि स्टार क्लब पोखरामा जारी १७ औं आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ । विभागिय टोली एपिएफ क्लबलाई पेनाल्टी शुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै थ्रि स्टारले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

१६ औं संस्करणको समेत उपबिजेता रहेको थ्रि स्टारलाई एपिएफले खेलको निर्धारित समय सम्म रोके पनि पेनाल्टी शुआउटमा एपिएफको फाइनलमा पुग्ने सपना भने पुरा हुन सकेन । एपिएफले आफ्नो राणनिती अनुसार खेलको अन्तिम समयमा किपर अमृत चौधरीलाई परिवर्तन गर्दै रोमन रसायलीलाई मैदान भित्र पठाएको थियो ।

खेलमा म्यान अफ दी म्याच घोषित अनन्त तामाङको अन्तिम पेनाल्टी सुटआउट गोलमा परिणत हुँदा रेफ्री नवीन्द्र महर्जनले थ्रीस्टारको पक्षमा जित गएको संकेत गरे । त्यसअघि रञ्जित धिमाल, सुनिल बल, रुपेश केसीले गोल गरेकोमा बुद्धराज लिम्बुको प्रहार विपक्षी कीपर रोमन रसाइलीले सेभ गरेका थिए ।

तेश्रो पेनाल्टी शुट आउटमा एपिएफका सन्तोष कटुवाल र थ्रि स्टारका सुनिल बलले गोल गरे । तर चौथो पेनाल्टी शुट आउटमा एपिएफका विकी लामाको प्रहार गोल पोष्टको बाँया भाग बाट बाहिरए पछि एपिएफ दवावमा परेको थियो । थ्रि स्टारका रुपेश केसी र अनन्त तामाङको गोलले थ्रि स्टारलाई आहा राराको फाइनलको यात्रा तय गरायो ।

प्रतिकुल मौसमका बाबजुद ९० मिनेट खेल सकिए लगतै कुनै अतिरिक्त समय समेत थप नगरी दुबै टिम टाइ ब्रेकरमा खेल्ने निधो गरे पछि निर्णायकले खेललाई टाइ ब्रेकरमा लगेका थिए । वर्षाका कारण खेल मैदान हिलाम्य हुँदा दुवै टिमबाट खासै मुभ हुन सकेनन् । अघिल्ला दिनको तुलनामा पोष्टमा खासै चार्ज भएनन ।

जितपछि थ्रीस्टारका मेघराज केसीले सोचेअनुरुप खेल हुन नसकेको बताए । निर्धारित समयमै स्कोर लिन कठिन बनेको उनको प्रतिक्रिया थियो भने एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले पहिलो हाफमा पाएका दुई अवसर गोलमा परिणत गर्न नसक्दा पराजित हुनुपरेको स्वीकारे । उनले खेल मैदानका कारण आफ्ना खेलाडी जम्न नसकेको बताए ।

बिहीवार दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र क्यामरुनको दाउफिन्स फ्यामली टिम प्रतिष्पर्धा गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close