
पोखरा, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश सबै खेललाई जिम्मेवारी दिएर अगाडि बढ्ने बताएका छन् ।
नेपालमा हुने सागमा समावेश विभिन्न २७ खेल संघका प्रतिनिधि, प्रमुख प्रशिक्षक तथा विषयगत समितिका प्रतिनिधिको उपस्थितिमा काठमाडौमा सम्पन्न भएको बृहत छलफल कार्यक्रममा खेलकुद मन्त्री विश्वकर्माले सागको आयोजक राष्ट्रले गर्ने भएपनि तर, सागमा समावेश खेलको व्यवस्थापन र सञ्चालन सम्बन्धित खेल संघलेनै गर्ने बताए । उनले सागको सफल आयोजनाका लागि सबै संघलाई जिम्मेवारी दिएर अगाडि बढ्ने प्रतिवद्धता समेत जाहेर गर्दै भने–‘जिम्मेवारी संघलाई दिन्छौ तर खर्च गर्दा पारदर्शीतामा हुनुपर्छ ।’
संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हालै कतारमा सम्पन्न एनोक बैठकका दौरान सागको समय सार्ने विषयमा कुनै छलफल नभएको प्रष्ट पार्दै राष्ट्रको गौरवसंग जोडिएको विषय भएकाले निर्धारित समयमै साग हुनु पर्नेमा जोड दिए ।
खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कुनैपनि काम गर्दा पद्धति र प्रकृयालाई ध्यानमा राखि अगाडि बढ्नु पर्ने सुझाए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले साग समयमै हुने भएकाले यसलाई अवस्मरणीय बनाउन सम्बन्धित सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने बताउदै सागको हाल सम्मो प्रगतिका बारेमा जानकारी गराएका थिए ।
