जापान कोमागाने शहरका मेयर संग एनओसी उपाध्यक्ष तेज गुरुङको भेट

पोखरा,
नेपाली यूथ एथलेटिक्स टोलीको नेतृत्व गर्दै जापान गएका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले मंगलबार जापान स्थित कोमागाने मेयर कोजी सुगोमोतो संग शिष्टाचार भेट गरेका छन ।

सो अबसरमा कोमागाने मेयर सुगोमोतोले पोखरा र कोमागानेको १८ वर्ष अघि स्थापना भएको दुई शहर बिचको भगिनी सम्बन्धका बारेमा चर्चा गर्दै सम्वन्धलाई अझै दिगो बनाउने बताएका छन ।

कोमागाने मेयर सुगोमोतोले पोखरा संगको सांस्कृतिक लगाएत अन्य सम्वन्धका साथै अब खेलकुद मार्फत समेत सम्वन्धलाई अगाडी बढाउने बताए । पोखराका पूर्व मेयर कृष्ण थापा र बर्तमान मेयर मान बहादुर जिशी मार्फत सम्वन्धलाई अझै बलियो र दिगो बनाउने विषयमा आफूले सकारात्मक भूमिका खेल्ने मेयर सुगोमोतोले बताए ।

कोमागाने शहरमा यहि सेप्टेम्बर २९ मा हुने कोमागाने म्याराथनका बिजेतालाई २०७६ फागुन ३ गते हुने १४ औं संस्करणको पोखरा म्याराथनमा सहभागिता गराउने मेयर कोमागातेले प्रतिवद्धता जनाएको उपाध्यक्ष गुरुङले जानकारी दिएका छन ।

पोखरा म्याराथनको आयोजक भूतपूर्व खेलाडी मंचका अध्यक्ष समेत रहेका गुरुङले कोमागाने मेयर सुगोमोतेलाई मंचको तर्फ बाट पोखरा म्याराथन प्रशंसा पत्र हस्तान्तरण गरेका छन । अध्यक्ष गुरुङले दुई शहरलाई खेलकुदका माध्यम द्वारा मेयर कोमागातेले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रंशसापत्र प्रदान गरेका हुन ।

त्यसै गरि उनले एनओसीका तर्फ मेयर कोमागाते, उपमेयर मासारु होरिउची र तिन पटक ओलम्पिकमा सहभागिता जनाएका जापानी धावक ओलोम्पियन शिन्जी आओतोलाई नेपालका तर्फ बाट मायाको चिनो प्रदान गरेका छन ।

ओलोम्पियन तथा चुक्यो विश्वविद्यालयका खेल प्रशिक्षक शिन्जीले नेपाल बाट प्रशिक्षणका लागि पुगेका यूवा धावकहरुलाई एक साता सम्म प्रशिक्षण दिनेछन । नेपाल बाट प्रशिक्षणमा सहभागी १९ वर्ष मुनिका खेलाडीमा कल्पना श्रेष्ठ, जयरानी चौधरी, माधव चौधरी र खिल बहादुर कार्की रहेका छन । सहभागी खेलाडी मध्ये जयरानी विभगिय टोली नेपाल आर्मी र खिल बहादुर नेपाल पुलिसका हुन । टोलीको प्रशिक्षकमा राकेश बज्रचार्य रहेका छन ।

नेपाली टोलीले यहि शनिवार जापान स्थित चुक्यो विश्विद्यालयमा हुने आन्तरिक प्रतियोगितामा समेत सहभागिता जनाउने छन । उनीहरुले १००, ४००, ८०० मिटरको दौड र लङजम्पमा सहभागिता जनाउने छन ।

जापान पुगेको नेपाली टोलीलाई कोमागाने महानगरका नाजु हाराहितो र याजावा कुनियाकीले सहजिकरण गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close