
केशब पाठक,
पोखरा, २७ असार । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले पोखरामा नवौ राष्ट्रिय खेलकुदका लागि बन्ने पूर्वाधारहरु गर्व गर्ने लाएक हुने गरि निर्माण हुने बताएका छन ।
कास्की जिल्ला खेलकुद बिकास समितीले जिल्लाका विभिन्न खेलकुद संघका अध्यक्ष तथा पदाधिकारि संगको अन्तक्रियामा अध्यक्ष सिलवालले नयाँ सोच र खोजका साथ अगाडी बढ्नु पर्ने कुरा औंल्याएका हुन ।
खेलकुदमा हाल निर्माण भइरहेका पूर्वाधारहरुमा आपसी समन्वयको अभावका कारण समस्या उत्पन्न भइरहेको तर्क अघि सार्दै सदस्य सचिब सिलवालले भौतिक पूर्वाधारमा प्रविधीसंग सहकार्य गर्न सकेमा धेरै कुराहरुमा सहजता हुने बताउँदै भने–‘१३ औं दक्षिण एशियाली खेलकुद (साग) लाई अर्जुनदृष्टीमा राखेर पूर्वाधार निर्माणलाई तिव्रता दिइने छ ।’
सदस्य सचिब सिलवालले पोखराको रंगशाला भित्र माष्टरप्लान सहित नयाँ ढङ बाट निर्माण प्रक्रियाहरु गरिने बताउँदै रंगशाला क्रंकिटको जंगल बन्न दिन नहुने तर्क अघि सारे ।
उपस्थित पदाधिकारीहरुको जिज्ञासा मेटाउने क्रममा सदस्य सचिब सिलवालले खेलकुदका प्रशिक्षकहरु गफ दिएर समय विताउने दिन गइसकेको बताए । अब प्रशिक्षकहरुका सम्बन्धमा नयाँढङ बाट अगाडी बढ्ने बताउँदै उनले भने–‘अब प्रशिक्षकहरु स्थायी दरवन्दीमा नभई कन्ट्रयाक्टका आधारमा नियुक्ति दिइने छ ।’ प्रशिक्षकले खेलकुदमा यति लामो विताए भन्नु भन्दा पनि गहिराईमा पुगेर मुल्याकंन गरिने स्पष्ट पारे ।
कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुदका विभिन्न १४ संघका अध्यक्ष, सहारा क्लब पोखराका पदाधिकारी लगाएतले जिज्ञासा राखेका थिए ।
