
केशब पाठक,
पोखरा, १७ बैशाख । नेपाली प्याराग्लाईडिङ टोलीले चिनमा आयोजना हुने विश्वकप प्याराग्लाइडिङ च्याम्यिनशिपमा सहभागिता जनाउने भएका छन ।
चिनको लिन्ज्ह्यााउमा आगामी ८ जुन देखि १५ जुन २०१९ सम्म आयोजना हुने विश्वकप प्याराग्लाईडिङमा १८ औं एशियाली रजत पदक बिजेता टोलीका कप्तान बिमल अधिकारी, बिशाल थापा र यूवा खेलाडी यूकेश गुरुङले सहभागिता जनाउने भएका हुन ।

नेपाली खेलाडीले क्रश कन्ट्रिको इन्डिभिजुअल इभेन्ट तर्फ विश्वभरिका १ सय ५० भन्दा बढी खेलाडी संग प्रतिष्पर्धा गर्दैछन । प्याराग्लाईडिङ विश्वकप टुर अन्तरगत सन २०१९ भित्र पाँच देशका विभिन्न स्थानमा प्रतिष्पर्धा हुँदैछ । जस अन्तरगत चिन, फ्रान्स, पोर्चुगल, ब्राजिल र अर्जेन्टिनामा विश्वकपका टुर हुनेछ ।
तिन जना खेलाडी मध्ये यूकेशले भने वाइल्ड कार्ड मार्फत प्रतिष्पर्धा गर्न पाएका हुन । आठौं राष्ट्रिय खेलकुदमा समेत क्रस कन्ट्रि तर्फ गण्डकी बाट स्वर्ण पदक जित्न सफल यूकेश भविष्यमा विश्वमानै एक उत्कृष्ट खेलाडी बन्न सक्ने भन्दै आयोजकले वाईल्ड कार्ड मार्फत सोझै प्रवेश दिएको हो । बिमल र बिशाललाई भने उनीहरुको विगतको उत्कृष्ट प्रतिष्पर्धा र नतिजाका आधारमा प्रतियोगितामा प्रवेश पाएका छन ।

सन २००६ बाट प्याराग्लाईडिङ खेल्न शुरु गरेका बिमल सन २०१३ मा नेपाल ओपन च्याम्पियनमा तेश्रो, सन २०१४ र २०१५ को सोही स्पार्धामा प्रथम, सन २०१८ को चाइनिज प्रि विश्वकपमा सातौं भएका थिए ।
यसै गरि नेपाल बाट सहभागिता जनाउने बिशालले सन २०१४ मा नेपालमा भएको नेपाली ओपन बाट सहभागिता जनाएर प्रतिष्पर्धामा आउन शुरु गरेका थिए । उनी आठौं राष्ट्रिय खेलकुदमा क्रस कन्ट्रि तर्फ रजत पदक बिजेता हुन ।
बिशालले भारतमा सन २०१५ मा भएको विश्वकपमा पहिलो पटक सहभागिता जनाएका थिए । नेपालमा सन २०१५ मा भएको लिग नेपालमा सातौं, सन २०१६ मा इन्डोनेशियामा सम्पन्न प्रि विश्वकपमा क्रस कन्ट्रि तर्फ टिम इभेन्टमा नेपाली टिम प्रथम हुँदा उनी टिमका सदस्य थिए भने व्यक्तिगत तर्फ स्पोर्ट्स क्लासमा प्रथम भएका थिए ।

२०१७ चाइनिज ओपनमा चौथो, २०१८ नेपाल ओपनमा दोश्रो, २०१८ चाइनिज ओपनमा तेश्रो, सन २०१८ मा चाइना प्रि विश्वकपमा तेश्रो, सन २०१८ दक्षिण कोरिया प्रि विश्वकपमा १२ औं स्थानमा आएका थिए भने २०१८ मा चाइना प्रि विश्वकपमा तेश्रो भएका थिए ।
चाइनामा हुने विश्वकपमा सहभागिताका लागि नाम छनौटमा परे पछि नेपाली खेलाडीहरु उत्साही बनेका छन । नेपाली टिमका कप्तान समेत रहेका बिमलले भने–‘हामीले वेष्ट दिने प्रयास गर्नेछौं अन्तर्राष्ट्रियस्तरमा हामीले धेरै पटक उत्कृष्ट गरेका छौं र त्यो अभियानलाई जारी राख्नेछौ ।’
