पोखरामा प्याराग्लाईडिङको सम्पूर्ण तयारी पुरा, सांसद पहारीले गरे उद्घाटन, यस्तो भने पहारीले (भिडियो सहित) 

केशब पाठक,
पोखरा, ५ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा बैशाख ६ गते (शुक्रबार) बाट सुरु हुने भएको छ । करिब २० वर्ष इतिहास बोकेको नेपालको प्याराग्लाइडिङ खेलमा पहिलो पटक राष्ट्रिय खेलमा समावेश गराइएको हो ।

आठौं राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन ५९ जना खेलाडी पोखरा आइपुगेको र सम्पूर्ण तयारी पुरा भएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका (नेफा)का महासचिब शैलेन्द्र राउतले जानकारी दिएका छन ।

प्रतियोगितामा प्रदेश १ बाट २ महिला सहित १० पुरुष, प्रदेश ३ बाट १ महिला र १० पुरुष, गण्डकी प्रदेश बाट ४ महिला र १० पुरुष, कर्णाली प्रदेश बाट ४ पुरुष, प्रदेश ७ बाट ४ पुरुष र नेपाली सेनाको त्रिभुबन क्लब बाट ३ महिला र १० पुरुषको सहभागिता रहने छ ।

बैशाख ९ गते सम्म संचालन हुने प्रतियोगितामा प्याराग्लाइडिङ खेलका दुई बटा इभेन्ट हुनेछन । टिम इभेन्ट तर्फ एक्यूरेसी र टिम क्रस कन्ट्रि तथा इन्डिभिजुअल एक्यूरेसी र इन्डिभिजुअल क्रस कन्ट्री हुने छन । कुल ६ वटा स्वर्ण पदकका लागि प्रतियोगितमा खेलाडीहरु भिड्ने नेफाका सचिब इन्द्र भण्डारीले बताए ।

यस अघि बिहिबार एक समारेहका बिच प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद राजिब पहारीले प्याराग्लाइडिङ बिनाको पोखरा अब कल्पना समेत गर्न नसकिने बताए । उनले भने–‘नेपाल अब हिमाल र बुद्ध जन्मिएको देशले मात्रै चिनिने छैन नेपालमा प्याराग्लाइडिङ खेलाडी उत्पादन हुने देश पनि हो भनेर चिनिने छ ।’

पोखरामा पहिलो पटक हुन लागेको प्रतियोगिताको आफूले उद्धाटन गर्न पाउँदा निकै गौरवान्वित रहेको धारणा राख्दै सांसल पहारीले राज्यको लगानी नरहेको खेल प्यारागलाइडिङले १८ औं एशियाली खेलकुदमा रजत पदक जितेर राज्यलाई प्याराग्लाइडिङ खेलमा लगानी गर्नु पर्छ भन्ने बलियो सन्देश प्रबाह गरेको बताए ।

विश्वको शाहसिक खेल गतिविधी र पर्यटनको गन्तब्यका लागि पनि प्याराग्लाइडिङ खेलले निकै महत्व राख्ने हुनाले पनि प्याराग्लाइडिङ खेलको बिकास गर्न आवश्यक्ता रहेको उल्लेख सांसद पहारी भने–‘पोखराको नयाँ बिमानस्थल सञ्चालन पछि पोखरा बाट प्याराग्लाइडिङ खेल हट्छ भनेर अनाहकमा हल्ला फैलाउने काम भएको छ, यो भ्रम मात्रै हो ।’

सांसद पहारीले नेपालमा पहलिो पटक संचालन हुन लागेको प्रतियोगितामा, प्रतियोगिताका इभेन्ट म्यानेजर तथा १८ औं एशियाडका रजत पदक बिजेता बिमल अधिकारीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरेका थिए । उनले प्रतियोगितामा सहभागी सबै प्रदेश र नेपाली सेनाका टिम म्यानेजरहरुलाई आ–आफ्नो प्रदेशको लोगो अंकित झण्डा पनि हस्तान्तरण गरे ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिबी पोखरेलले पोखराको प्याराग्लाइडिङ अब व्यवसायमा मात्रै सिमित नरही शाहसिक खेल पर्यटनको गन्तब्य बनाउन उल्लेख्य योगदान प्रदान गरेको बताए ।

शुक्रबार बाट शुरु हुने खेलका मिट डाइरेक्टर अजय कुमार शर्माले यो प्रतियोगितालाई दुर्घटना न्यूनीकरण लाई पहिलो प्राथमिकतामा राखेर खेल संचालन गरिने बताए ।

कार्यक्रममा नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष एवम प्याराग्लाईडिङका लागि नेपालका मुख्य प्रशिक्षक योगश भट्टराई, ना का उपाध्यक्ष एवम प्राधिकारिक संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण भण्डारी, खेलकुद पत्रकार केशब पाठक, नेपाली सेनाका मेजर माधब जोशीले आ–आफ्ना धारणा राखेका थिए ।

नेफाका अध्यक्ष रुपनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले अब राज्यका तर्फ आगामी बजेटमा एक खेलाडी एक ग्लाइडर दिने गरि बजेटमा व्यवस्था गर्न आफूहरु लागि परेको बताए । सो अबसरमा एशियाली रजत पदक बिजेता अधिकारीले खेलाडी र टिम प्रशिक्षहरुलाई खेलको प्राविधिक पक्षबारे जानकारी दिएका थिए ।

शुक्रबार बाट शुरुहुने प्रतियोगिताका लागि नेपाली सेनाको राहत तथा उद्धार टोलीले शुरक्षाका सबै प्रबन्ध मिलाउने छ । प्रतियोगिताका लागि उद्धारका सामाग्री सहित मोटर बोट र आवश्यक परेमा हेलिकप्टर समेत सेनाले प्रवन्ध मिलाउने भएको हो ।

प्रतियोगिताबाट रेङकिङको आधारमा महिला ८ र पुरुष १६ जना खेलाडीलाई राष्ट्रिय खेलाडीको रुपमा घोषणा गर्ने तयारी गरिरहेको नेफाले जनाएको छ । टिम इभेन्ट तर्फ एक्यूरेसी र टिम क्रस कन्ट्रि तथा इन्डिभिजुअल एक्यूरेसी र इन्डिभिजुअल क्रस कन्ट्री तर्फ घोषणा गरिने ति खेलाडीले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि छनौट समेत गरिने छ ।

पुरुष १६ जना बाट १३ औं सागका लागि ‘वेष्ट अफ दि बेष्ट’ रेङकिङका आधारमा ८ जना छानिने छन भने महिला ८ जना बाट सोही अनुसार ‘वेष्ट अफ दि बेष्ट’ रेङकिङमा ५ जना अन्तिम छनौटमा पर्नेछन ।

Parliamentarian Rajib Pahari

Posted by PokharaSports.com on Thursday, April 18, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close