पोखरामा ‘प्रदीप मेमोरियल बास्केटबल’ सुरू, पहिलो दिन ६ खेल सम्पन्न

पोखरा स्पोर्टस । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सुरू भएको छ ।

चैँपर लेम भाईखलक घान्द्रुकको आयोजनामा पोखरा महागनरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आजदेखि पहिलो संस्करणको प्रदीप मेमोरियल बास्केटबल प्रतियोगिता सुरू भएको हो ।

प्रतियोगिता अन्तर्गत खुल्ला पुरुषतर्फ आज ६ खेल सम्पन्न भएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिएका छन् । उनका अनुसार आज भएको पहिलो खेलमा छोम्रोङ रातोले एमवाइसी घान्द्रुकलाई ५८–४० अङ्कले पराजित गरेको छ । दोस्रो खेलमा मर्दी खोलाले छोम्रोङ सेतोलाई ४१–२१ अङ्कले पराजित गर्न सफल रह्यो ।

यस्तै तेस्रो खेलमा टिम ख्याङले रामघाट बीलाई ७०–२३ अङ्कले पराजित गर्दा चौथो खेलमा कास्की बास्केटबल एकेडेमीको अनुपस्थितिमा वाकओभरमार्फत बेगा गाउँ विजयी बन्यो ।

पाँचौ खेलमा पुन युनाटेड नदीपुरले अघौँ पुनमगर समाजलाई ७२–३५ अङ्कले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो भने छैटौं खेलमा छोम्रोङ रातोले मनकामना क्लब दीपलाई ७०–३७ अङ्कले पराजित गर्दै छोम्रोङ रातो क्वाटरफाइनलमा प्रवेश गरेकाछ ।

प्रतियोगितामा खुला पुरुषतर्फ १७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन अन्नपूर्ण गाउँपालिका ११ का वडाध्यक्ष हिम बहादुर गुरुङले गरे । सो अवसरमा बोल्दै स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा सञ्चालित प्रतियोगिताले उनको आत्मालाई शान्ति मिल्ने विश्वास व्यक्त गरे ।

फरक प्रसंगमा बोल्दै उक्त प्रतियोगिताले प्रतिभावान तथा उदीयमान खेलाडीलाई अवसर मिल्ने बताउदै बास्केटबल खेलको विकास हुने उनले धारणा राखे । वडाध्यक्ष गुरुङ आगामी दिनमासमेत सो प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

सो प्रतियोगिताको पुरुषतर्फको विजेता टोलीले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजता बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close