एसिया कप व्हीलचेयर क्रिकेट प्रतियोगिता नेपालमा हुने

पोखरा, ७ चैत्र । एसिया कप व्हीलचेयर क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । आयोजक व्हीलचेयर क्रिकेट संघ नेपालले बिहीबार पत्रकार सम्मेलन गरी अप्रिल अन्तिम साता प्रतियोगिता आयोजना गर्ने जानकारी गरायो ।

४ दिन लाग्ने प्रतियोगिता कीर्तिपुर टीयू क्रिकेट मैदानमा हुनेछ । ‘ग्राउन्डको समस्याले गर्दा मिति यकिन गर्न नसकिएको हो । हामीले गर्ने समयमा ग्राउन्ड बुक भइसकेको रहेछ ।’– आयोजक व्हीलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम ग्याल्जिन शेर्पाले भने– ‘ग्राउन्ड बुक गर्ने पक्षसंग हामीले कुरा गरिरहेका छौं, उहाँहरुको सकरात्मक जवाफ पाएका छौं ।’

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र बंगलादेश गरी ४ राष्ट्रको सहभागिता रहनेछ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा जम्मा ७ खेल हुनेछ । त्यसमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्ने छन् ।

अध्यक्ष शेर्पाले व्हीलचेयर क्रिकेटको एसिया कप नेपालमा मात्र नभइ विश्वमै पहिलो पटक हुन लागेको जानकारी गराए । संघकै आयोजनामा गत वर्ष टीयू क्रिकेट मैदानमा नेपाल, भारत र बंगलादेश सम्मिलित व्हीलचेयरकै त्रिकोणात्मक श्रृंखला भएको थियो । उक्त श्रृंखलाको उपाधि नेपालले जितेको थियो ।

पत्रकार सम्मेलनमा इन्टरनेसनल काउन्सिल फर व्हीलचेयर क्रिकेटका चेयरम्यान पाकिस्तानका मोहम्मद जिसान, उपाध्यक्ष भारतका हरुन रसिद लगायतको उपस्थिति थियो ।

जिसनकै अध्यक्षतामा बुधबार काउन्सिलको बैठक पनि बसेको थियो । बैठकले नै एसिया कप नेपालमा गर्ने निर्णय गर्नुका साथै काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय समेत गरेको अध्यक्ष शेर्पाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close