काभा महिला भलिबल च्यालेन्ज कप : किर्गीस्तान विरुद्ध नेपालको विजयी सुरुआत

पोखरा स्पोर्टस । काठमाण्डौमा आजबाट सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले बिजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वस्थित कभर्डहलमा भएको उद्घाटन खेलमा किर्गीस्तान विरुद्ध ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–११ ले आफ्नो पक्षमा पारेको नेपालले दोश्रो सेट २५–१९ र तेश्रो सेट २५–११ ले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको छ ।

किर्गीस्तान विरुद्ध नेपालको यो लगातार तेश्रो जित समेत हो । अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको टिममा प्रशिक्षक जाँ डे ब्रान्टले ६ जना नयाँ खेलाडीलाई समेटेका छन् । आजको खेलमा दुई नयाँ खेलाडीले डेब्यू समेत गरे ।

त्यस्तै आज नै भएको समुह ए अन्तर्गतको खेलमा भारतले बंगालादेश विरुद्ध सहज जित निकालेको छ । प्रतिद्धन्द्धी बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी भएको हो । भारतले बंगलादेशमाथि एकपक्षीय प्रदर्शन गर्दा २५–३, २५–९ र २५–६ को सहज जित हात पारेको हो । यो जितसँगै भारतले समूह ‘ए’ मा ३ अंक जोडेको छ ।

आज नै भएको समुह ‘ए’को खेलमा उज्वेकिस्तानले श्रीलंकामाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको छ । उज्वेकिस्तानले २७–२५, २५–२० र २५–१४ ले जित निकालेको हो ।

च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ । एक हप्ता सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्नेछ । समूह ‘ए’ मा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान तथा समूह ‘बि’ मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।

च्याम्पियनसिपको प्रधानमन्त्री पुष्प कमल दाहालले च्याम्पियनसिप सुरु भएको घोषणा गर्दै उद्घाटन गरे । च्याम्पियनसिपको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आजैका दिन २०७४ साल जेष्ठ ८ (२२ मे २०१७) मा आफ्नै पालामा राष्ट्रिय खेलको रुपमा भलिबल चयन गरिएकोमा सोहि दिन पारेर आज सेन्ट्रल एशियन प्रतियोगिता नेपालमा आयोजना हुनुले आफुलाई निकैनै खुशी दिलाएको बताए । उनले भलिबलको विकासमा आफु सदा सहयोग गर्न तयार रहेको बताए ।

सोहि क्रममा प्रधानमन्त्री दाहालले केक काटेर राष्ट्रिय खेल भलिबलको जन्म दिवस मनाएका थिए । 

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपालले यस प्रतियोगिता ल्याउने क्रममा बिदेशी संस्थाले नेपालमा बतानुकुलित कभर्डहल भए नभएको बारे जानकारी लिएको भन्दै राष्ट्रिय खेल भलिबल घोषणा गर्ने सरकाका प्रधानमन्त्री अहिले पनि प्रधानमन्त्रीनै भएको अवस्थामा बातानुकुलित एक कभर्डहल बनाउन आशा ब्यक्त गरे ।

कार्यक्रममा खेलाडीको तर्फबाट नेपाली भलिबल टिमकी कप्तान अरुणा शाही र निर्णायहरुको तर्फबाट अन्तर्राष्ट्रिय रेफ्रि गौतम प्रसाद लासिवाले अन्तराष्ट्रिय नियमानुसार खेल्ने र खेलाउने सपथ खाएका थिए ।

प्रमुख अतिथी प्रधानमन्त्री दाहालले सहभागी बिदेशी टिम र सहयोगीहरुलाई मायाको चिनो प्रदान  गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close