
पोखरा स्पोर्ट्स/ तस्विरः सुदर्शन रञ्जित । पोखरामा शनिबार सम्पन्न सातौ एशिया कप ट्रायथ्लनमा जापानी खेलाडीहरूले प्रभावशाली प्रदर्शन गर्दै पुरुष र महिला दुवै विधामा उपाधि जितेका छन् । नेपाल ट्रायथ्लन संघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा जापानको दबदबा देखिएको हो ।
पुरुषतर्फ जापानका हुकुतो ओवारा ७५० मिटर पौडी, २० किमी साइक्लिङ र ५ किमी दौड ५४ मिनेट ३० सेकेन्डमा पूरा गर्दै च्याम्पियन बने । उनी एशिया ट्रायथ्लन वरियतामा शीर्ष १० भित्र पर्ने खेलाडी पनि हुन् । जापानकै मित्सुहो मुचीजुकी ५५ मिनेट ५ सेकेन्डसहित दोस्रो भए भने उज्बेकिस्तानका आलेक्सेन्डर कुरीशोभ ५५ मिनेट ६ सेकेन्डमा तेस्रो स्थानमा रहे । जापानका जेन्ता उचिदा (५५ः४५) चौथो र सातोशी इवामोता (५५ः५८) पाँचौँ स्थानमा रहे ।
महिलातर्फ जापानकी सारिका नाकायामा १ घन्टा १६ सेकेन्डमा दूरी पूरा गर्दै च्याम्पियन बनिन् । उज्बेकिस्तानकी अलिना खाकीमोभा १ घन्टा १ मिनेट ७ सेकेन्डमा दोस्रो हुँदा जापानकी मिनोरी इकोना (१ः०१ः२५) तेस्रो भइन् । जापानकै युकी सुगिहारा (१ः०२ः०८) चौथो र इस्टोनियाकी ग्रेटे मारिया (१ः०३ः२२) पाँचौँ स्थानमा रहे ।
प्रतियोगितामा पुरुष र महिला दुवै विधाका शीर्ष पाँच खेलाडीहरूले क्रमशः ६३०, ५२५, ४२९, ३१५ र २१० अमेरिकी डलर नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसैगरी, १४ औ साउथ एशिया ट्रायथ्लन च्याम्पियनसिपतर्फ भारतीय खेलाडीहरूको वर्चस्व रह्यो । पुरुषतर्फ भारतका याजात कन्दन्दा ५८ मिनेट ३८ सेकेन्डमा च्याम्पियन बने । भारतकै खुन्द्राकपाम मेतेई ५८ मिनेट ५६ सेकेन्डमा दोस्रो हुँदा नेपालका मौलिक महर्जन १ घन्टा १५ मिनेटमा तेस्रो भए ।
महिलातर्फ भारतकी डोली देवीदास पाटिल १ घन्टा ९ मिनेट ५ सेकेन्डमा पहिलो, भारतकै मान्सी मोहती १ घन्टा ११ मिनेट ३७ सेकेन्डमा दोस्रो र नेपालकी खेलाडी युस्का महर्जन १ घन्टा २६ मिनेट ४७ सेकेन्ड लिंदै तेस्रो भइन् ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गरेका थिए। उनले प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि यस्ता साहसिक खेलकुदमा लगानीलाई प्राथमिकता दिएको बताए ।
नेपाल ट्रयाथ्लन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, नेपाल पर्यटन बोर्ड गण्डकीका बरिष्ठ निर्देशक मणीराज लामिछाने, संघका वरिष्ठ उपाध्यक्ष दिपक कोइराला, उपाध्यक्ष पूर्व प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह, शसस्त्र प्रहरीका नायब महानिरिक्षक दिपेन्द्र शाह, नेपाल ट्रयाथ्लन संघका उपाध्यक्ष सुमन देवकोटा, पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक गोदारलगायतले खेलाडीहरुलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा नेपालसहित जापान, स्लोभाकिया, उज्वेकिस्तान, दक्षिण कोरिया, सिङ्गापुर, ओमान, इस्टोनिया र भारतका खेलाडीहरू गरी ४२ जनाले प्रतिस्पर्धा गरेका थिए ।
