
पोखरा स्पोर्टस । नेपाल भूतपूर्व खेलाडी मञ्चका कोषाध्यक्ष एवं गण्डकी प्रदेश फेन्सिङ संघका कार्यसमिति सदस्य महेश पौडेललाई पितृ शोक परेको छ ।
पौडेलका पिता गोबिन्दप्रसाद पौडलको आज (मंगलबार) राती १ः३० बजे पोखरा ११ स्थित निवासमा ७३ वर्षको उमेरमा निधन भएको हो । उहाँ लामो समय देखि विरामी रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
पोखरा २० भलाम र्यालेचौरका स्थायी बासिन्दा शिक्षा तथा समाजसेवी स्वर्गिय पौडेल ३५ वर्ष शिक्षण पेशामा आवद्ध हुनुहुन्थ्यो । महेन्द्र मावि भलाम शिक्षण पेशाबाट अवकाश लगतै विद्यालय ब्यवस्थापन समितिको सदस्य, सोही विद्यालयमा भवन निर्माणको समितिको संयोजक समेत रहेर भवन निर्माण सम्पन्न गर्न महत्वपूर्ण योगदान दिनुभएको थियो ।
उहाँ व्रह्माण समाज नेपालको पूर्व केन्द्रिय सदस्य, विश्व हिन्दु परिषद कास्कीको पूर्व सल्लाहकार, फामर्स फोरा कास्कीको संस्थापक अध्यक्ष, पौडेल आत्रेय समाज भलाम,को उपाध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठनलगायत विभिन्न सामाजिक संस्थामा आवद्धता रहेको थियो ।
उहाँको श्रीमती, दुई छोरा, दुई बुहारी, दुई छोरी, ४ नाती ८ नातीनी रहेका छन् ।
उहाँको आज मंगलबार पोखरा ११ फुलबारीस्थित शिवगौरीघाटमा अन्तिम संस्कार गरिने भएको जनाइएको छ ।
यसै बीच उहाँको असमायिक निधनमा नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले गहिरो दुःख व्यक्त गरेको छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजिुलीले उहाँको निधनले विभिन्न नेतृत्वदायी भूमिकामा रहि सेवा गर्नुहुने एक असल शिक्षा तथा समाजसेवी गुमाएको जनाउँदै भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्नु भएको छ ।
