गण्डकी र एपिएफको उत्कृष्ट सुरुवात, एभरेष्ट र एपिएफ महिलातर्फ विजयी

पोखरा स्पोर्टस । नवौं संस्करणको पिएम कप भलिबल लिगमा गण्डकी प्रदेशले पुरुषतर्फ विजयी सुरुवात गरेको छ । तीन अन्तर्राष्ट्रिय खेलाडीको साथ मैदानमा उत्रिएको गण्डकीले कोशी प्रदेशलाई ३–१ ले पराजित गरेको हो ।

गण्डकीले खेलको पहिलो सेट २५–१५ ले सहजै आफ्नो पक्षमा पारे पनि दोस्रो सेटमा कोशीले कडा चुनौती दियो । गण्डकीले २१–२५ ले दोस्रो सेट गुमाउन पुग्यो । तर तेस्रो सेटमा २५–२२ र अन्तिम सेटमा २५–२० ले जित निकाल्दै पहिलो जित दर्ता गर्‍यो । गण्डकीको टिममा समावेश तीन पाकिस्तानी खेलाडीको प्रदर्शन विशेष रहेको थियो ।

त्यसअघि पुरुषतर्फको पहिलो खेलमा एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशमाथि ३–० को एकतर्फी जित निकाल्दै प्रतियोगितामा सशक्त सुरुवात गरेको छ । एपिएफले २५–१९, २५–१६, २५–१६ को सेटमा सहज विजय हात पारेको छ ।

यता महिला तर्फको खेलमा पनि उत्साहजनक प्रतिस्पर्धा देखिएको छ । एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को जित निकालेको छ । पहिलो सेट २२–२५ ले गुमाएपनि एभरेष्टले लगातार तीन सेट २५–१९, २५–१७, २५–१३ ले जित्दै विजयी भयो । थाइल्याण्डका तीन खेलाडी सहित राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको एभरेष्टको प्रदर्शन प्रभावशाली रह्यो ।

महिला तर्फ नै अर्को खेलमा एपिएफले कर्णाली प्रदेशलाई २५–१०, २५–१० र २५–१५ को सहज जितसँगै ३–० ले हराउँदै लिग यात्रा सुरुवात गरेको छ ।

यस अघि एक भब्वय कार्यक्रमका बीच संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री चौधरीले आगामी बजेट खेलकुदको पूर्वाधार विकास र यूवाहरुको स्वरोजगारमा केन्द्रित हुने बताए ।

सो अवसरमा बोल्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले नेपाली राष्ट्रिय खेल भलिबलको लिग प्रतियोगिता पोखरामा हुनु पोखरेलीहरुको लागि गौरवको विषय रहेको जनाउँदै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले पोखरा कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सक्षम रहेको जनाउँदै काभा च्याम्पियनसिप पोखरामा गर्ने गरी संघले तयारी गर्ने जनाए ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिता एक साता सम्म चल्नेछ। पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् । राउण्ड रोबिन लिग चरणपछि शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close