
केशव पाठक/पोखरा स्पोर्ट्स । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक मणी लामिछानेको शब्द सापट लिने हो भने पोखरा इभेन्टको शहर हो । साहसिक खेलकुदको गन्तव्यको रूपमा पहिचान बनाएको पोखरालाई प्याराग्लाइडिङ पर्यटन आकर्षण गर्ने मुख्य आधारसमेत हो ।
पोखरा आफैंमा प्राकृतिक सुन्दरता, हिमाल, तालतलैया र हरियालीले भरिपूर्ण शहर हो । तर यहाँ आउने पर्यटकलाई आकर्षित गर्ने अर्को महत्वपूर्ण पक्ष भनेको विभिन्न साहसिक गतिविधि र अन्तर्राष्ट्रिय स्तरका खेल तथा इभेन्टहरू हुन् । तीमध्ये प्याराग्लाइडिङलाई पोखराको पर्यटन उद्योगको प्रमुख आधार मानिन्छ । आकाशबाट फेवाताल, अन्नपूर्ण हिमश्रृंखला र शहरको मनोरम दृश्य हेर्दै उड्ने अनुभवका कारण यो खेल विश्वभरका पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।
प्याराग्लाइडिङ खेलले नेपाललाई आशा र गर्वको अनुभूति दिलायो । नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेपछि एकाएक यो खेल चर्चामा आयो। लामो समयदेखि शान्त रूपमा अघि बढिरहेको यो साहसिक खेलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चिनाउन सफल भयो ।
पछिल्ला केही वर्षयता विभिन्न कारणले रोक लगाइएको प्याराग्लाइडिङको सोलो उडान (एकल उडान) पुनः सुचारु भएसँगै पोखराको साहसिक खेलकुद क्षेत्र फेरि चलायमान बन्दै गएको छ । पाँच वर्षदेखि रोकिएको सोलो उडान पुनः सञ्चालनमा आउनु केवल खेलाडीका लागि मात्र होइन, पर्यटन व्यवसायी र स्थानीय अर्थतन्त्रका लागि पनि सकारात्मक संकेत हो । यसले नेपाली प्याराग्लाइडिङ खेलाडी, प्रशिक्षक, आयोजक तथा पर्यटन व्यवसायीमा नयाँ उत्साह थपेको छ ।
प्याराग्लाइडिङको सोलो उडानलाई व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्न सकिए गण्डकी प्रदेशको पर्यटन आयमा उल्लेख्य वृद्धि हुन सक्ने अपेक्षा गरिएको छ । नेपालका धेरै साहसिक खेलहरू जस्तै प्याराग्लाइडिङ पनि पर्यटनसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो । विदेशी पर्यटकहरू विशेष रूपमा पोखरा पुगेर यही अनुभव लिन चाहन्छन् । त्यसैले यो खेललाई अझ व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास हुनु आवश्यक छ ।
विगत पाँच वर्ष देखि रोकिएको प्याराग्लाइडिङ प्रतियोगिताको झल्को मेट्न यो सहयोगी हुनेछ । कुनै बेला वर्ल्ड च्याम्पियनसिपका प्रतिस्पर्धाहरु आयोजना गरेर विश्वमा सहाशिक खेलकुदमा स्थापित गर्न सफल पोखरा विगतको निरन्तरतालाई अघि बढाउन सके यसले नेपाली सहाशिक खेलकुदमा नयाँ आयाम स्थापित गर्नेछ ।
यसै सन्दर्भमा यही चैत ५ देखि ७ गतेसम्म आयोजना हुन लागेको ‘२१औँ पोखरा ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप’ (एफएआई क्याटोगरी–२) ले पोखराको साहसिक खेलकुद पर्यटनलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ । यस प्रतियोगितामा नेपालसहित विभिन्न देशका करिव १ सय खेलाडीहरूको सहभागिता रहनेछ । यसले पोखरालाई अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ गन्तव्यका रूपमा पुनः स्थापित गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ भने विगत पाँच वर्ष देखि रोकिएको प्याराग्लाइडिङ प्रतियोगिताको झल्को मेट्न यो सहयोगी हुनेछ । कुनै बेला वर्ल्ड च्याम्पियनसिपका प्रतिस्पर्धाहरु आयोजना गरेर विश्वमा सहाशिक खेलकुदमा स्थापित गर्न सफल पोखरा विगतको निरन्तरतालाई अघि बढाउन सके यसले नेपाली सहाशिक खेलकुदमा नयाँ आयाम स्थापित गर्नेछ ।
प्याराग्लाइडिङ खेलले राष्ट्रिय स्तरमा पनि ठूलो चर्चा पाएको एउटा महत्वपूर्ण क्षण भनेको १९औँ एसियाली खेलकुद थियो । त्यतिबेला नेपालले सहभागिता जनाएका अधिकांश खेलमा पदक हात पार्न नसकेको अवस्थामा खेलाडी तथा खेलप्रेमीहरू निराश बनेका थिए । प्रतियोगितामा सहभागी अफिसियलहरूको संख्या धेरै भएको र उनीहरू घुमघाममा व्यस्त देखिएको भन्दै सामाजिक सञ्जालमा आलोचना पनि सुरु भएको थियो ।
तर त्यही बेला प्याराग्लाइडिङ खेलले नेपाललाई आशा र गर्वको अनुभूति दिलायो । नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेपछि एकाएक यो खेल चर्चामा आयो। लामो समयदेखि शान्त रूपमा अघि बढिरहेको यो साहसिक खेलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चिनाउन सफल भयो । त्यस उपलब्धिले खेलाडीहरूको मनोबल मात्र बढाएन, देशभर प्याराग्लाइडिङ खेलप्रति चासो र सम्मान पनि बढायो ।
पोखरा प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्ट गन्तव्यहरूमध्ये एक मानिन्छ । यहाँको मौसम, उडानका लागि उपयुक्त भौगोलिक बनावट, सुरक्षित ल्यान्डिङ क्षेत्र र पर्यटकमैत्री वातावरणले गर्दा विदेशी खेलाडी तथा साहसिक पर्यटकहरूका लागि यो ठाउँ विशेष आकर्षक बनेको छ। सराङकोटबाट हुने उडान त झन् पोखरा भ्रमणको अनिवार्य अनुभवजस्तै बनिसकेको छ ।
प्याराग्लाइडिङ खेलले पोखरामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौं मानिसलाई रोजगारी पनि दिएको छ । प्रशिक्षक, पाइलट, उपकरण व्यवस्थापन, होटल व्यवसाय, यातायात सेवा, गाइड लगायत धेरै क्षेत्र यससँग जोडिएका छन् । त्यसैले यो खेलको विकास हुनु भनेको केवल खेलकुदको विकास मात्र होइन, स्थानीय अर्थतन्त्रको सुदृढीकरण पनि हो ।
तर यस क्षेत्रलाई दीर्घकालीन रूपमा सफल बनाउन सुरक्षा व्यवस्थापन, स्पष्ट नीति, नियमित तालिम तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना अनिवार्य छ । अतीतमा भएका केही दुर्घटनाले गर्दा उडानमा प्रतिबन्ध लगाउनु परेको अनुभवलाई ध्यानमा राख्दै अब थप जिम्मेवार ढंगले अघि बढ्नु आवश्यक देखिन्छ । जसका लागि नेपाल प्याराग्लाइडिङ संघ (नेफा) र नेपाल हवाई खेलकुद संस्था (ना)ले अझै प्रभावकारी नियमन र व्यवस्थापनमा जोड दिन आवश्यक छ ।
प्याराग्लाइडिङलाई खेल, पर्यटन र आर्थिक विकासको त्रिकोणीय आधारका रूपमा विकास गर्न सके पोखरा साँच्चै “इभेन्टको शहर” मात्र होइन, साहसिक खेलकुदको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित हुन सक्छ। सोलो उडानको पुनः सुरुवात, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको आयोजना र स्थानीय खेलाडीहरूको उत्साहले अहिले पोखराको प्याराग्लाइडिङ क्षेत्र फेरि लयमा फर्किएको संकेत दिइरहेको छ ।
यदि राज्य, निजी क्षेत्र र खेल समुदायबीच समन्वय कायम रह्यो भने आगामी दिनमा पोखरा विश्वका अग्रणी प्याराग्लाइडिङ गन्तव्यहरूमध्ये एक बन्ने सम्भावना अझ प्रबल मात्रै नभई अन्तर्राष्ट्रियस्तरका प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजनाका लागि बाटो समेत खुल्ला हुनेछ ।
