
पोखरा स्पोर्ट्स । काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले, सार्वजनिक पूर्वाधार निर्माणको डिजाइनबाट नै अपाङ्गता भएका व्यक्ति र महिलाहरुको पहुँचलाई ध्यान दिनुपर्ने बताएकी छन् ।
शुक्रबार महानगरको वडा नम्बर ५ भित्रका निर्माणाधीन पूर्वाधार योजनामध्ये सानो गौचरन स्टेडियम र स्केटवोर्ड पार्कको अनुगमन गर्ने क्रममा उनले सानो गौचरन स्टेडियममा अपाङ्गता भएका व्यक्तिहरुका लागि संरचना नदेखेपछि लिफ्ट राखेर अपाङ्गता भएका व्यक्तिहरुलाई प्याराफिटसम्म पुग्ने वातावरण बनाउन निर्देशन दिएकी हुन् ।
अहिलेसम्म स्टेडियमको ७५ प्रतिशत भौतिक प्रगति र ६८ प्रतिशत वित्तीय प्रगति भएको छ । सानो गौचरन स्टेडियम निर्माणका लागि २२ करोड ९५ लाख ९३ हजार ९९९ रुपियाँ लागत अनुमान गरिएकोमा बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपियाँमा शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको काम गरिरहेको छ ।
रङ्गशाला १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण भइरहेको हो । यसमा दर्शक क्षमता १ हजार ५ सय जनाको हुनेछ । स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल निर्माण गरिएकोछ । यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ् हुनेछ ।
स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् । एउटा अपाङ्गता भएका व्यक्तिका लागि शौचालय हुनेछ । स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, ३ वटा पुरुषका लागि ३ वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुनेछन् ।
आउँदो चैत मसान्तभित्र स्टेडियम निर्माण सम्पन्न भइसक्नु पर्नेछ । ३ हजार ७६० वर्गमिटर क्षेत्रफलमा स्केट बोर्ड पार्क निर्माण हुँदैछ । यहाँ २ हजार २५० वर्गमिटर क्षेत्रफलमा स्केट बोर्ड निर्माण हुनेछ । स्केट बोल र रोलर स्केटिङ् यसका मुख्य अङ्ग हुन् । यससँगै बास्केटवल कोर्ट, भलिवल कोर्ट र एम्पिथियटर निर्माण हुनेछ । यसको सम्झौता रकम ६ करोड ७० लाख ९७ हजार ४६१ रुपियाँ हो । २०८१ जेठ ३२ गते कार्यादेश दिइएको परियोजना सानु सुवाल पवन जेभीले कार्यान्वयन गरिरहेको छ ।
