‘भौतिक पूर्वाधारको कारणले अब साग रोकिन्न’, जिवनराम श्रेष्ठ, अध्यक्ष एनओसी

पोखरा,
१३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारीको अनुगमनका लागि गठित उपसमितिका संयोजक तथा सांसद जीवनराम श्रेष्ठले खेलकुदको भौतिक पूर्वाधारकै अभावमा साग नरोकिने दाबी गरेका छन् ।

नेपाल ओलम्पिक कमिटीका नवनिर्वाचित अध्यक्ष समेत रहेका श्रेष्ठले कार्तिक १५ भित्र सबै संरचना निर्माण भैसक्ने र आयोजक राष्ट्र नेपाल भएकोले तयारी सम्बन्धमा कुनै कसर बाँकी नराखिने उनले बताएका छन ।

सागका लागि पोखरामा निर्माणाधीन भौतिक संरचना अनुगमन तथा निरीक्षणको लागि श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय टोली पोखरा आएको हो । बुधबार पोखरा रंगशाला अनुगमन गर्ने क्रममा पत्रकारसँग कुराकानी गर्दै श्रेष्ठले भने– ‘दुई÷चार दिन यताउता पर्ला तर समयमै भौतिक संरचना निर्माण हुनेमा हामी विश्वस्त छौं ।’

साग आयोजना अब राष्ट्रको गौरब, इज्जत र प्रतिष्ठाको विषय भएकोले पनि यसलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नु आफूहरुको दायित्व भएको बताउँदै अध्यक्ष श्रेष्ठले सागमा सहभागिता जनाउने सदस्य राष्ट्रहरुलाई पत्राचार गरिसकेको र सात वटै राष्ट्रबाट ‘कन्फरमेसन’ पत्रसमेत आइसकेका जानकारी दिए ।

अनुगमनमा रहेका राष्ट्रिय खेलकुद परिषद उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले काठमाडौं र पोखरामा हुने सागमा पूर्वाधार निर्माणको लागि आफूहरु दत्तचित्त रहेको बताए । पोखराका खेलकुद प्रेमीहरुले देखाएको दत्तचित्तको अवस्था र निर्माण लगाएको अवस्थाका लगाएतका कारणले पनि तोकिएकै दिनमा साग हुन्छ भन्नेमा विश्वस्त रहेको बताए ।

एसियाली खेलकुदमा रजत पदक ल्याएको प्याराग्लाइडिङले सबै पदक हासिल गर्ने कुरामा आफूहरु विश्वस्त रहेको बताउँदै राखेप उपाध्यक्ष तिम्सिनाले सबै देशहरुलाई सहभागिता जनाउने वातावरण बनाउनेमा लागिपरेको बताउँदै अब पूर्वाधारहरुको हिसावले साग नरोकिने कुरामा दावी गर्दै भने–‘घडि, पला, समय सबै हिसावले तोकिएकै र भनिएकै मितिमा साग आयोजना हुन्छ ।’

अनुगमन टोलीले पोखरा रंगशालाको फुटबल स्टेडियम, क्रिकेट मैदान, आर्चरी, कभर्ड हल लगायतको अनुगमन गर्नुका साथै खेलसम्बद्ध पदाधिकारीसँग छलफल गरेको थियो । यस्तै, टोलीले सागका लागि पोखरामा तयारी गरिरहेका पुरुष–महिला ह्याण्डबल र आर्चरी टोलीसँग तयारीबारे जानकारी लिएको थियो ।

संसदिय सामितीको टोलीले पोखराको सराङकोट प्याराग्लाइडिङ उडान क्षेत्र, पोखरा हेमजा र पोखरा लामाचौर गोष्तेघाटको समेत पूर्वाधार निर्माणको निरिक्षण अनुगमन गरेको थियो ।

अनुगमनमा समिति सदस्य तथा सांसद नमिता कुमारी चौधरी, खेलकुद मन्त्रालयका संसदिय सचिबालयका उपसचिब पुष्प खनाल, यूवा तथा खेलकुद मन्त्रालयका इन्जिनियर राजेश सिग्देल, राखेप सदस्य राजेश गुरुङ, नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तथा साग तयारी समितीका सदस्य तेज गुरुङ, राखेपका पूर्व सदस्य खडग रानाभाट लगायत संलग्न थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close