केपी ओली कप राष्ट्रिय क्रिकेटका लागि खेलाडी छनोट प्रक्रिया सुरु

पोखरा स्पोर्टस । पोखरामा हुने प्रथम केपी ओली कप राष्ट्रिय टि–२० प्रतियोगिताको लागि मदन भण्डारी स्पोर्टस एकेडेमीले आफ्नो विभागीय टिमको छनोट प्रक्रिया अगाडि बढाएको छ ।

शक्ति क्रिकेट एकेडेमी पडसरीमा एक कार्यक्रमको आयोजना गरी छनोट कार्य अगाडि बढाइएको हो । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा मंसिर ७ गतेबाट १६ गतेसम्म हुने प्रतियोगितामा विभागीय टिमसँगै एकेडेमीका यू–१९ दुई वटा रातो र निलो टिम र सात प्रदेशका टिम र विभागीय ३ टिम गरी १२ समूहको सहभागिता रहने बताइएको छ ।

एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनको अध्यक्षतामा भएको कार्यक्रममा एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीका क्रिकेट विभाग सचिव गणेश गौडेल, केन्द्रीय सदस्य सुनिल कुँवर, रितु श्रीवास्तवलगायतले प्रतियोगितामा सहभागिताबारे आ–आफ्नो धारणा राखेका थिए ।

छनोट कार्यक्रममा विभिन्न जिल्लाबाट करिब १३० जना खेलाडीहरूको सहभागिता रहेको थियोे ।

छनोट कार्यक्रममा बोल्दै एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले वर्तमान अवस्थामा अनेक सम्भावना हुँदाहुँदै पनि राज्यको उदासीनताको कारण खेलाडीहरू विदेश पलायन भएको हँुदा राज्य गम्भीर हुन आग्रह गरे । फरक प्रसङ्गमा कुरा गर्दै आचार्यले जबसम्म खेलाडीहरूमा लगानी गर्न सकिदैन तबसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनिन नसक्ने दाबी गर्दै आफुहरूले एकेडेमीबाट राष्ट्रव्यापी रूपमा विभिन्न खेलकुद गतिविधि गर्दै आएको बताए ।

छनोट प्रतियोगितामा पूर्व राष्ट्रिय क्रिकेटर तथा एकेडेमीका क्रिकेट विभाग प्रमुख गौचनले पोखरामा हुने खेलको लागि आफुहरू दसैं लगत्तै खेलाडीहरूलाई चार समूहमा विभाजन गरी उत्कृष्टताको आधारमा अब्बल टिम निर्माण गरी बन्द प्रशिक्षण समेत दिने बताए ।

खेलमा प्रथम पुरस्कार नगद रु ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार २ लाख ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष आचार्यले जानकारी दिए ।

आइसिसीको नियम अनुसार खेलाइने उक्त प्रतियोगितामा म्यान अफ द सिरिजले नगद रु ३० हजार रूपैयाँ, बेस्ट बलरले नगद रु २० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद रु ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close