प्रदेश भलिबल संघको बैठकमा एनिभिए कपको गम्भिर समिक्षा, सदस्य सचिव शर्मालाई सम्मान

पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघको बैठकमा काठमाण्डौमा हालै सम्पन्न सातौं प्रधानमन्त्री एनभिए कप भलिबल लिगको गम्भिर समिक्षा गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मालाई बधाई सहित सम्मान गरेको छ ।

संघको आइतबार पोखरामा सम्पन्न बैठकले सो विषयमा गम्भिर रुपमा छलफल संगै गम्भिर समिक्षासमेत गरिएको संघका अध्यक्ष नविन गुरुङले जनाएका हुन् । गत असार २३ देखि ३० गते सम्म काठमाण्डौमा सम्पन्न एनभिए कप भलिबल लिगमा गण्डकी तिन भारतिय खेलाडीसहित मैदान उत्रिए पनि आशातित सफलता प्राप्त गर्न सकेको थिएन । रेफ्रिको कमजोरीका कारण आर्मी विरुद्धको खेल विवादित बने संगै नेपाल आर्मीका खेलाडी र दर्शक विचसमेत हात हालाहालको स्थिती उत्पन्न भएको थियो ।

सो घटना लगायत सबै खेलहरुको गम्भिर समिक्षा गरिएको बताउँदै अध्यक्ष गुरुङले आगामी दिनमा प्रदेश भलिबल संघले आफ्नो योजना अनुरुप खेलाडी उत्पादन संगै विभिन्न प्रतियोगिताहरुका लागि तयारी गर्ने बताए । “हामीले एनभिए कप गुमायौं । तर हामी पराजित भयो भन्दैमा त्यसै बस्ने छैनौ । आगामी प्रतियोगिताहरुको यात्रालाई अझै परिमार्जित गर्दै हामी हघि बढ्ने छौं” उनले भने ।

यसै गरी बैठकमा प्रदेश खेलकुद परिषद गण्डकीमा सदस्य सचिव नियुक्त भएका श्रीधर शर्मालाई बधाई सहित सम्मान गरेको छ । नेपाल भलिबल संघका सचिव समेत रहेका सदस्य सचिव शर्माले बैठकमा खेल अनुशासनको विषयमा आफ्ना धारणा राखेका थिए । आफूलाई प्रदेश भलिबल संघले बैठकमा बोलाएर सम्मान गरेकामा संघ प्रति आभार व्यक्त गर्दै खेलकुदमा खेलाडी, रेफ्रि र दर्शक सबै मर्यादित भएमा मात्रै खेलकुद विकासले गति लिने बताए । उनले भने–“खेलाडी, रेफ्रि र दर्शक मर्यादित भएर खेल सञ्चालन गर्नु हामी सबैको दायित्व हो । आगामी दिनमा यस बारे सबै सचेत भए अघि बढ्नु पर्छ ।”

बैठकले सातौं प्रधानमन्त्री एनभिए कप भलिबल लिगमा स्वदेश तथा विदेशबाट गण्डकी प्रदेश भलिबल संघलाई सहयोग गर्नेहरु प्रति आभार व्यक्त गर्दै हाल सम्म बैठकमा उपस्थित हुन नसकेका संघका पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई के कति कारणले उपस्थित हुन नसकेको हो त्यस बारे लिखित जवाफसहित स्पष्टिकरण सोध्ने निर्णय भएको अध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close