
पोखरा स्पोर्टस । पोखराको पहिलो निजी विद्यालय माउन्ट अन्नपूर्ण माविले ‘छिमेकी मैत्री विद्यालय’ कार्यक्रम अन्तर्गत बालबालिका लागि खेलकुदअघि सारेको छ ।

आफ्ना विद्यालयको वरपर रहेका बाल बालिकालाई खेलकुद संगै विभिन्न कृयाकलापमा जोड्ने उक्त कार्यक्रमहरुको उद्धेश्य रहेको माउन्ट अन्नपूर्णले जनाएको हो । उक्त कार्यक्रम अन्तर्गत वालवालिकालाई बास्केटबल, ह्याण्डबल, फुटबल, लङजम्म, हाइजम्म, जुम्बा, योगा, तेक्वान्दो लगायतका खेलहरु सिकाईने र खेलाईने विद्यालयले जनाएको छ । निशुल्क रुपमा ८ देखि १४ वर्ष उमेर सुमहका वालवालिका लाई लक्षित गरी कार्यक्रम अघि बढाइएको विद्यालयका अध्यक्ष गिरी प्रसाद गुरुङले पोखरा स्पोर्टसलाई बताए ।
‘छिमेकी मैत्री विद्यालय’ कार्यक्रम के हो यसको उद्धेश्य ?
पोखरा वडा नं ३ नदिपुरमा अवस्थित माउन्ट अन्नपूर्णले शुरु गरेको उक्त अभियानको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बुधबार शुभारम्भ गरेका छन् । सो अवसरमा उनले शिक्षा संगै टोल–टोल वासी संग हातेमालो गर्दै बालबालिकालाई यो अवसर दिनु महत्वपूर्ण रहेको बताए । उनले भने–“यो कार्यक्रमले मैत्रीपूर्ण व्यवहार गर्न, स्वस्थ्य रहन सँगै समाजमा एकताको बलियो सन्देश दिन सफल हुनेछ ।”
कुन न कुनै संस्थाले यस्ता मह्त्वपूर्ण कार्यक्रम अघि बढाउनु पर्ने अवस्थामा माउन्ट अन्नपूर्ण आफै अघि सर्नु सुखद पक्ष रहेको औल्याउँदै पूर्व अध्यक्ष मुल्मीले भने–“विद्यालयले छिमेकीसंग मैत्रीपूर्ण व्यवहारबाट सद्भाव जित्नका लागि छिमेकमा रहेका बालबालिका लाई एउटै थलोमा भेला गरेर खेलकुदको माध्यमबाट एकतामा बाँध्ने काम प्रशंसनिय छ ।”
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले खेदकुदको माध्यमबाट वालवालिकालाई टोलमा र छिमेकीमा घुलमिल गराउने र खेलकुदको उत्सव मनाउन विद्यालयले लिएको नीति महत्वपूर्ण रहेको बताए । यति बेला कोभिड १९ को महामारी संगै बालबालिकमा नकरात्मक प्रभाव परेको बताउँदै सदस्य सचिव गुरुङले भने–“धेरै जसो बालबालिका मोवाइलमा आफ्नो समय खेर फाल्दा स्वास्थ्य संगै उनीहरुको मष्तिस्क र स्वास्थ्यमा समेत नराम्रो प्रभाव परेको छ,” उनले थपे–“माउन्ट अन्नपूर्णले अघि सारेको छिमेकी मैत्री कार्यक्रमले त्यस्तो प्रभावलाई कम गर्न सहयोग पुग्नेछ ।”
माउन्ट अन्नपूर्णको अघि सारेको कार्यक्रम प्रदेश खेलकुदले पाइलट प्रोजेक्टका रुपमा अध्ययन गर्दै आगामी दिनमा अन्य विद्यालयहरुमा समेत लागु गर्न अभिप्रेरित गरिने सदस्य सचिव गुरुङले बताए ।
विद्यार्थीहरु जुनसुकै विद्यालयका भएपनि उनीहरुले आफ्नो प्रतिभा देखाउन सक्ने, साथीहरुबीच घुलमिल गराउने र खेलको माध्यमबाट स्वस्थ रहन सघाउने विद्यालयका प्रिन्सिपल प्रदिप कुमार लम्सालले बताए । उनले भने–“आज बाट हामीले विद्यार्थीलाई अवसर ल्याएका छौं, कात्तिक ८ गतेसम्म विहान ७ देखि ९ वजेसम्म चाहेको खेल खेल्न सक्नेछन् । साथै शनिबार र बिदाका दिनमा यो अवसर कायम रहने छ ।” कार्यक्रम गर्नुको मुख्य उद्धेश्य स्वस्थ जिवनशैली, साथीहरुबीचको एकताभाव र विद्यार्थीलाई सोच्नसक्ने, पढ्नसक्ने र सक्रिय भईरहन सघाउने उनको भनाई छ ।
