
पोखरा स्पोर्ट्स । वेस्टइण्डिजले जारी आइसीसी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न समुह सी अन्तर्गतको खेलमा वेस्टइण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेर विश्वकपमा विजयी शुरुवात गरेको हो ।
वेस्टइण्डिजले दिएको १८३ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १८.५ ओभरमा अल आउट हुदै १४७ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्टनले सर्बाधिक ४२ रन बनाएका थिए भने टम ब्रुसले ३५ रन र जर्ज मुन्सीले १९ रन बनाएका थिए ।
स्कटल्याण्डलाई अल आउट गर्नेक्रममा रोमारियो शेफर्डले ह्याट्रिकसहित एक ओभरमा ४ विकेट लिएका थिए भने उनले कुल ५ विकेट लिएका थिए । त्यस्तै जासन होल्डरले ३ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइण्डिजले २० ओभरमा ५ विकेट गुमाउदै १८२ रन बनाएको थियो । वेस्टइण्डिजका लागि शिमरोन हेटमायेरले सर्बाधिक ६४ रन बनाएका थिए भने ब्राण्डन किंगले ३५, शेरफान रुथरफोर्डले २६ र रोभमन पावेलले २४ रन बनाएका थिए । त्यस्तै कप्तान शाइ होपले १९ रन बनाएका थिए ।
त्यसैगरी स्कटल्याण्डका बलर ब्राड करीले २ विकेट लिए भने सफयान शरिफ, ओलिभर डेभिडसन र माइकल लिस्कले एक एक विकेट लिएका थिए ।
यो जितपछि अब वेस्ट इण्डिजले अर्को खेल फेब्रुअरी ११ मा इङल्याण्डसँग खेल्ने छ भने स्कटल्याण्डले अर्को खेल फेब्रिअरी ९ मा इटालीसँग खेल्ने छ ।
