एन्फा महिला क्वालिफायरमा सहभागि हुने पोखराको टोली काठमाण्डौ प्रस्थान, मेयर आचार्यले गरे बिदाई

पोखरा स्पोर्टस । पहिलो पटक महिला क्वालिफायरमा सहभागि पोखरा आर.एस.क्लब महिला फुटबल टोली आज काठमाण्डौ प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना सञ्चालनमा हुन लागेको महिला क्वालिफायरमा प्रस्थान गर्न लागेको टिमलाई एक कार्यक्रमका बीच पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले बिदाई गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्लेक्समा आयोजना हुने क्वालिफायरमा पोखराले यहि ३० गते राप्ती फुटबल क्लब संग आफ्नो भेट पक्का गरेको छ ।

पोखरा रंगशालामा आयोजित कार्यक्रममा टोलीको शुभकामनाका साथ बिदाई गर्दै मेयर आचार्यले टिम भावना अनुरुप आफ्नो खेल प्रदर्शन गर्दै मैदानमा उत्रिन आग्रह गरे । उनले भने–“यो टिम वर्क हो । सबै मिलेर खेल्न सके मात्रै खेल जित्न सकिन्छ ।”

खेलकुदले मात्रै राष्ट्रिय भावना जगाउने संगै साझा अभियान समेत रहेको उल्लेख गर्दै मेयर आचार्यले नेपाली महिला फुटबलमा यति बेला महत्वपूर्ण अवसर रहेको बताए । सानो उमेर बाटै लक्ष्य बनाएर अघि बढ्न सके मात्रै लक्ष्य प्राप्त गर्न सकिने जनाउँदै उनले भने, “खेलकुदमा निरन्तरता, आत्मविश्वास समपर्ण र आवश्यक हुन्छ । यहाँहरुमा हुने यी तीन गुणले नै सफलता प्राप्त हुन्छ । म सक्छु र एक दिन जित्छु नै प्रमुख विषय हो । यहाँहरु जितेर आउनुहोस हामी यहाँहरुलाई स्वागत गर्न आतुर छौं ।”

सो अवसरमा आर एस क्लबका अध्यक्ष रमेश कार्कीले करिव चार महिना देखिको प्रतिफल प्राप्त गर्न टोली काठमाण्डौ प्रस्थान गर्न लागेको बताए । उनले करिव ३ सयजना बाट खेलाडी छनौट गरी तीन महिनाको निरन्तर पश्चात टोली काठमाण्डौ प्रस्थान गर्न लागेको जनाउँदै टिमका लागि सहयोग गर्न समेत आग्रह गरे । 

सो अवसरमा मेयर आचार्यले टोलीकी कप्तान गिता श्रेष्ठलाई जर्शी हस्तान्तरण गरे ।

कार्यक्रममा पोखरा महानगर पालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिना लगायतको सहभागिता रहेको थियो ।

टोली
गोलकिपरः गायत्री मल्ल, मनिषा तामाङ
डिफेन्डरः झरना थापा मगर, दिपिका राई, प्रिन्सिका वाइवा, कुशुम बोटे, कृष्मा भुलुन, शुसिला धामी, मनमाया मोक्तान, निकिता सिंह, अन्जना राना, विजु सरू मगर, खशी थिङ
मिडफिल्डरः गिता श्रेष्ठ, सलिना सारु, तुलसी शाही, स्मृती बारघरे, प्राप्ती गुरूङ, रिना राना, गंगा पाइजा, दिप्ती भुजेल, सुना पाख्रिन
फर्वाडः विपना परियार, सरिता विक, उशा शाही, इशा चौधरी

व्यवस्थापकीय टोलीमा प्रज्वल पौडेल टिम म्यानेजरको रूपमा जिम्मेवारी सम्हाल्ने छन् भने फिजियोका रूपमा समुन्द्र कुवर रहेकी छन् । अफिसियलका रूपमा भुवन श्रेष्ठ र जङ थापा रहने छन् । गोलकिपर प्रशिक्षकको रूपमा एकराम थापा रहेका छन् । सहायक टिम प्रशिक्षकमा सुमन श्रेष्ठ र बिरेन राना रहेका छन् भने मुख्य प्रशिक्षकको जिम्मेवारी सुबिन श्रेष्ठले सम्हालेका छन् ।

एन्फाले सञ्चालन गर्न लागेको महिला क्वालिफायरमा १५ टिमको सहभागिता रहेको छ । यहि २९ गते बाट सुरू हुने प्रतियोगितामा हरेक टिमले ६ म्याच खेल्नेछन् भने ५ शिर्ष स्थानमा पर्न सफल हुने टिमले लिगमा सहभागिता जनाउन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close