‘प्रतिभा सुपर लिग क्रिकेट’मा युवा खेलाडीको चमक, पहिलो दिन दुई रोमाञ्चक जित

पोखरा स्पोर्ट्स । पोखरामा विद्यालयस्तरीय क्रिकेटको उत्साह थपिँदै प्रतिभा सुपर लिग ‘पिएसएल क्रिकेट प्रतियोगिता’ औपचारिक रूपमा सुरु भएको छ । 

प्रतियोगिताको पहिलो दिन आयोजक प्रतिभा मावि र बाल मन्दिर मावि ले प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुवात गरे ।

उद्घाटन खेलमा प्रतिभा माविले वाराही माविलाई ३ विकेटले पराजित गर्दै घरेलु मैदानमा बलियो सुरुवात गर्‍यो । १२७ रनको लक्ष्य पछ्याएको प्रतिभाले सहबुद्दिन अन्सारीको संयमित ४३ रनको मद्दतमा १८.५ ओभरमै लक्ष्य पूरा गर्‍यो । यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका सहबुदिन अन्सारी प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा बाल मन्दिर माविले ग्लोबल कलेजियटमाथि ६ विकेटको सहज जित निकाल्यो । बलिङतर्फ सुमन अधिकारीले ह्याट्रिकसहित ५ विकेट लिँदै विपक्षी टोलीलाई मात्र ७१ रनमा समेटे । लक्ष्य पछ्याउने क्रममा बाल मन्दिरले १२।१ ओभरमै खेल आफ्नो पक्षमा पार्‍यो । शानदार बलिङका कारण सुमन अधिकारी प्लेयर अफ द म्याच बने ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको उद्घाटन समारोहमा पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले अनुशासन, नेतृत्व र आत्मविश्वास विकास गर्ने उल्लेख गरे ।

यस अघि भएको उद्घाटन कार्यक्रममा प्रतियोगिताको उद्देश्य विद्यालयस्तरबाटै क्रिकेटको विकास गर्दै नयाँ प्रतिभा पहिचान गर्नु रहेको विद्यालयका प्राचार्य किरण सापकोटाले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले शिक्षा, खेलकुद र पर्यटनलाई जोड्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे ।

प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार, उपविजेताले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट प्लेयर अफ द सिरिज तथा प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई पनि विशेष सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिभा माध्यमिक विद्यालय, पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहकार्यमा सुरु भएको प्रतियोगिताले विद्यालयस्तरका युवा खेलाडीलाई आफ्नो क्षमता देखाउने उत्कृष्ट मञ्च प्रदान गरेको छ । प्रतिभा सुपर लिगले पोखरामा विद्यालय क्रिकेटको भविष्य उज्यालो बनाउने अपेक्षा गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close