पिएम कप महिला टि २० क्रिकेट छनौट पोखरामा सुरु, स्याङजाको बिजयी सुरुवात

पहिलो पटक महिलाले अम्पाएरिङ गर्दै

पोखरा स्पोर्टस । पिएम कप महिला टि २० क्रिकेट छनौट प्रतियोगिता पोखरामा मंगलबारबाट सुरु भएको छ ।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा सुरु भएको उद्घाटन खेलमा स्याङजाले पर्वतलाई २११ रनको विशाल रनले पराजित गरेको हो । स्याङजाले दिएको २२६ रनको लक्ष्य पछ्याउने क्रममा पर्वत ११.१ ओभरमा सबै विकेट गुमाउँदै १५ रनमात्रै जोड्न सक्यो ।

स्याङजाले टस जितेर व्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ मात्र विकेट गुमाएको थियो । श्रेया शाही २० रन बनाउँदै जेविका क्षेत्रीको बलमा बोल्ड भइन् । म्यान अफ दि म्याच समेत रहेकी अञ्जली शर्माले ६० बलमा १२ चौकाको मद्धतले ८४ रन बनाउँदै रिटायर्डहर्ट भएकी थिइन् । सिमाना केसीले ३८ र सेरिना थापाले १३ जोडे । २२६ रन बनाउने क्रममा स्याङजाले उपहार स्वरुप ६० रन एक्सट्रा रन पाएको थियो । 

पहिलो पटक अम्पाएरिङ गर्दै महिला
पोखरामा सुरु भएको पिएम कप महिला टि–२० क्रिकेट छनौटमा महिला अम्पाएरको प्रयोग हुने भएको छ । हालै पोखरामा सम्पन्न ओ लेभलको अम्पाएरिङ प्रशिक्षण सहभागि रहेकी सोनिका थापाले बुधबारको खेलमा अम्पाएरिङ गर्ने भएकी अध्यक्ष सिग्देलले जानकारी दिए । पोखरामा महिला अम्पाएरको प्रयोग सम्भवत पहिलो पटक गरिन लागेको हो । पोखरा स्पोर्टस संग कुरा गर्दै थापाले आफूले उत्कृष्ट रुपमा अम्पाएरिङ गर्न तयार रहेको बताइन् । “यो एउटा अवसर हो । मैले सिकेको शिपलाई मैदानमा उत्राने छु ।”

 

पर्वतकी एञ्जल अधिकारीले ३ रनमात्रै बनाउन सकिन । अधिकांश खेलाडीहरु सून्य रनमा पेभिलियन फर्किए । पहिलो पटक सहभागिता जनाएको पर्वतले उत्कृष्ट खेल भने प्रर्दशन गर्न सकेन । अधिकांश खेलाडीहरु एउटै विद्यालयका विद्यार्थीहरु समेटिएका थिए । स्याङजाका लागि ज्योत्सनीका मारासिनीले आफ्नो १.२ ओभरको स्पेलमा ३ विकेट हात पारिन् । रन्जना साउद र अपेक्षा वुढाथोकीले २–२ विकेट लिए ।

पिएम कप महिला टि–२० क्रिकेट छनौटमा ४ जिल्लाको सहभागिता रहेको छ । कास्की, पर्वत, स्याङजा, नवलपुरको सहभागिता रहेको हो ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पिएम कपमा विगतको इतिहासलाई कायम गर्न गण्डकी प्रदेशको क्रिकेट टिम सफल हुने विश्वास व्यक्त गरे । खेलकुदमा बजेट अभावका कारण सोच अनुरुप गतिविधि अघि बढ्न नसकेको औंल्याउँदै परिषदले महिला खेलाडीहरुको उत्पादनमा विशेष भूमिका खेल्ने उनले बताए । समाजमा बढ्दो लैङ्गिक हिंसा रोक्न र महिला अधिकारका सवालमा समेत खेलकुदको महत्व बढ्दै गएको उनको भनाई थियो ।

गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा निवर्तमान अध्यक्ष देवेन्सन प्रजुले समेत आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close