छैटौं टाइगर कप भलिबल : मंगलबार चार खेल, फाइनल दौड झन् रोमाञ्चक

पोखरा स्पोर्ट्स । पोखरामा जारी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत भोली (मंगलबार) चार खेल हुने भएका छन् । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अनुसार मंगलबार महिलातर्फ दुई र पुरुषतर्फ दुई गरी कुल चार खेल सञ्चालन हुनेछन् ।

Men’s Point Table 

आयोजकले भोलीका सबै खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेको छ । पुरुषतर्फ लगातार दुई खेल जित्दै उत्कृष्ट लयमा रहेको पर्वत जिल्ला भलिबल संघले आफ्नो तेस्रो खेलमा पाहुना टोली मालदिभ्स भलिबल एशोसियसनसँग प्रतिस्पर्धा गर्नेछ ।

पर्वतले अघिल्ला दुई खेल जित्दै फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाइसकेको छ । उता मालदिभ्स भने आफ्ना दुवै खेल गुमाइसकेको अवस्थामा भोलीको खेल जितेर प्रतियोगिता सान्त्वनाका साथ टुंग्याउने लक्ष्यमा रहनेछ ।

तीन पाकिस्तानी खेलाडीसहित मैदानमा उत्रने पर्वतले युवा टोली मालदिभ्सविरुद्ध सहज जित निकाल्ने अनुमान गरिएको छ । अर्कोतर्फ पुरुषतर्फकै अर्को खेलमा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनलमा पुग्न गण्डकीका लागि भोलीको खेल जित्नै पर्ने दबाबपूर्ण अवस्था रहेको छ, जसले खेललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

Women’s Point Table

महिलातर्फ नेपाल आर्मी क्लबले आफ्नो अन्तिम खेलमा पाहुना टोली थाइल्याण्ड क्विन्ससँग सामना गर्नेछ । यसैगरी महिलातर्फकै अर्को खेलमा टिपटप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन् । आर्मी भने लगातार तीन खेलमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ भने थाइल्याण्डले एकमा जित र एक खेलमा हार बेहोरेको छ ।

न्यू डायमण्डले आफ्नो लय समात्दै दुई खेल जित्दा नेपाल पुलिस क्लब एकमा हार र दुईमा जितसहित अघि बढेको छ । एपिएफ क्लब दुईमा जित र एकमा हारका साथ अंक टेबुलको दोस्रो स्थानमा छ । 

प्रतियोगिताले अन्तिम चरणतर्फ प्रवेश गर्दै गर्दा फाइनलको समीकरण स्पष्ट हुँदै जाने भएकाले भोलीका खेल दर्शकका लागि विशेष आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।

नेपाल भलिबल संघको स्वीकृतिमा जारी प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी छन् । छैटौं संस्करणमा विदेशी टिमको सहभागिता मुख्य आकर्षणका रूपमा रहेको छ ।

महिलातर्फ थाइल्याण्ड क्विन्स,थाइल्याण्ड तथा पुरुषतर्फ माल्दिभ्सको टिम प्रतिस्पर्धामा छन् । नेपाली क्लबतर्फ महिला समूहमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप–टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब सहभागी छन् ।

पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ रहेका छन् ।

प्रतियोगिताका महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले नगद रु ६ लाख ६६ हजार ६६६, दोस्रोले रु ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले रु २ लाख ६ हजार ६६६ रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई रु २६ हजार ६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीहरूलाई नगद रु ११ हजार ६६६ सहित उपहारको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close