
पोखरा स्पोर्ट्स । पोखरामा जारी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप अन्तर्गत सोमबार भएको रोमाञ्चक खेलमा गण्डकीले विभागिय टोली नेपाल आर्मी क्लब माथी जित निकालेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगितामा गण्डकीले आर्मी माथी ३–१ को सेटले जित निकाल्दै फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको हो । निकै रोमाञ्चलक खेलमा पहिलो सेट गण्डकीले ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट २५–३१ ले आर्मीलाई सम्पियो तर तेस्रो सेट गण्डकीले ३३–३१ ले आफ्नो पक्षमा पार्दै अग्रता लियो । त्यस्तै चौथो सेट २५–१९ ले जित्दै जारी प्रतियोगितामा एकमा हार र दुईमा जितसहित गण्डकीले प्रतियोगितामा आफूलाई उभ्याएको छ ।
गण्डकीका टिम क्याप्टेन सञ्जु फर्किए
यसै बीच गण्डकी टिमका क्याप्टेन सञ्जु विक्रम शाह टोलीमा फर्किएका छन् । एक खेल खेलेर युएई गएका सञ्जु आज बिहान काठमाण्डौ आइपुगेका थिए । उनले जारी प्रतियोगितामा एक खेल नै छोडेर युएई पुगेका थिए । उनीसँगै गण्डकीका अर्का खेलाडी विश्वास अधिकारी पनि विदेश हानिएका थिए । टोलीका क्याप्टेन नै खेल छोडेर विदेश जाँदा गण्डकी प्रदेश भलिबल संघले कस्तो कार्वाही गर्छ त्यो भने हेर्न बाँकी छ । उनी खेल छोडेर विदेशिदा निकै आलोचना खेप्नु परेको थियो । आज अचानक मैदान छिरेका सञ्जुलाई टिमका प्रमुख प्रशिक्षक रमेश केसीले पहिलो सेटमा बाहिर राखेका थिए ।

पोखरामा जारी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलको एपिएएफ क्लबले माल्दिभ्स भलिबल एसोसियसनमाथि सहज जित निकालेको छ । पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो । च्याम्पियनसिपमा एपीएफले दोस्रो जित निकाल्दा माल्दिभ्सले भने लगातार तेस्रो हार बेहोरेको छ ।
त्यस्तै महिलातर्फ भएको एक मात्र खेलमा नेपाल आर्मी क्लब सशस्त्र प्रहरी बल एपीएफसँग ३–० को सोझो सेटमा पराजित भएको छ । एपीएफले २५–११, २५–१८ र २५–१९ ले आफ्नो पक्षमा पार्दै जारी प्रतियोगितामा दोस्रो जित दर्ता गर्न सफल भएको छ ।
पहिलो खेलमा थाइल्याण्ड क्विन्सलाई पाँचौं सेटमा हराएको एपीएफ दोस्रो खेलमा न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लबसँग पराजित भएको थियो । यस्तै आर्मी आफ्नो पहिलो खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लब र दोस्रो नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । अब आर्मी अन्तिम खेल भोलि थाइल्याण्ड क्विन्ससँग भिड्नेछ ।
