
पोखरा स्पोर्ट्स । भलिबल खेलको विकास सहित शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका कृयाशिल संस्था टाइगर ग्रुप अफ पोखरा नेपालले अस्ट्रेलियाको संयोजकमा राजकुमार अधिकारीलाई जिम्मेवारी दिएको छ ।
विभिन्न देशहरुमा संस्थालाई विस्तार गर्ने क्रममा अधिकारीलाई अस्ट्रेलियाको जिम्मेवारी सुम्पिएको हो । । एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा संस्थाका सचिब डिबी नेपालीले संयोजकको जिम्मेवारी सुम्पिएको घोषणा गरेका थिए ।
सोही अवसरमा टाइगर ग्रुपले अधिकारीलाई भलिबल खेलको विकास सँगै अस्ट्रेलियामा रहेर खेलकुदको विकास समेत निरन्तर सहयोग गरिरहेको जनाउँदै सम्मान गरिएको छ । भलिबलका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका अधिकारीले २०५८ सालमा पहिला पटक आयोजना भएको महिला तथा पुरुष भलिबल राष्ट्रिय प्रतियोगिताको संयोजक समेत रहेका थिए । त्यस्तै उनले नेपाल भलिबल संघले आयोजना गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल च्याम्पियिनसिपमा पहिलो पटक नेपाली क्लबहरुमा विदेशी खेलाडीहरु भित्राउन समेत भूमिका खेलेका थिए ।
तत्कालिन कास्की जिल्ला भलिबल संघको आयोजनामा भएको उक्त प्रतियोगिता सफल बनाउन उनको भूमिका महत्वपूर्ण रहेको थियो । बाराही क्लबका पूर्व अध्यक्ष समेत रहेका अधिकारी एनआरएनए आइसिसीका सदस्य समेत रहेका छन् ।
सम्मानित अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्ट, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा, प्रतियोगिताका संयोजक राजकुमार गुरूङ, संस्थाका उपाध्यक्ष देवेन्द्र केसीलगायतले सम्मान गरेका थिए ।
सम्मानित अधिकारीले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै नगद रु १ लाख १ हजार १११ रुपैयाँ टाइगर ग्रुपका अध्यक्ष शर्मालाई हस्तान्तरण गरेका छन् ।
