एनसेल टाइगर कपः पाहुना टोली मालदिभ्स विरुद्ध आर्मी हावी

पोखरा स्पोर्ट्स । एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पहिलो दिनको दोस्रो खेलमा विभागिय टोली नेपाल आर्मी क्लब विजयी भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शुक्रबार बाट पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सुरू भएको प्रतियोगितामा आर्मीले पाहुना टोली मालदिभ्स भलिबल क्लबलाई सोझो ३–० को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–१५ ले जितेको आर्मीले दोस्रो सेटमा सुधारिएको प्रदर्शन गरेको मालदिभ्सलाई आर्मीले २५–२२ ले जित्न सफल भयो । तर तेस्रो सेटमा आर्मीले मालदिभ्सलाई पुरै दबावमा राख्दै २५–१० ले जित्न सफल भयो । खेलमा आर्मीका सुनिल बोहोरा प्लेयर अफ दि म्याच बने । उनले केल्मीको टिशर्ट प्राप्त गरे ।

यसरीनै आजनै भएको महिलातर्फको एक खेलमा टिपटप न्यू डायमण्ड यूथ स्पोर्ट्स कलब विजयी भएको छ । न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लबले नेपाल आर्मी क्लबलाई सिधै सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । खेलको पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–०८ को सहज जितसहित आफ्नो वर्चस्व देखायो । सो खेलमा उत्कृष्ट प्रदर्शन गरेकी न्यू डायमण्डकी सालिना बुढा मगर ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

नेपाल भलिबल संघको स्वीकृति र समन्वयमा हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी हुनेछन् । यस संस्करणमा विदेशी टिमको सहभागिता मुख्य आकर्षणका रूपमा रहेको छ ।

महिलातर्फ थाइल्याण्ड क्विन्स,थाइल्याण्ड तथा पुरुषतर्फ माल्दिभ्सको टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाली क्लबतर्फ महिला समूहमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप–टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब सहभागी छन् । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ मैदान उत्रनेछन् ।

प्रतियोगिताका महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले नगद रु ६ लाख ६६ हजार ६६६, दोस्रोले रु ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले रु २ लाख ६ हजार६६६ रुपैयाँ हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रु। २६,६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीहरूलाई रु ११,६६६ बराबरको उपहारको व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close