
पोखरा स्पोर्ट्स । कास्की जिल्ला क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत पोखरा क्रिकेट मैदानमा सम्पन्न चौथो दिनको खेलमा अरन्यज्योति क्रिकेट क्लबले लेकसाइड क्रिकेट क्लबलाई १६ रनले पराजित गरेको छ ।
टस जितेर लेकसाइड क्रिकेट क्लबले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अरन्यज्योति क्रिकेट क्लबले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २१४ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । अरन्यज्योतिका लागि सञ्जीव कार्कीले ९५ बलमा ८९ रनको उत्कृष्ट इनिङ खेले । उनलाई घनश्याम कुमार यादवले ४२ बलमा ४५ रन बनाएर साथ दिए भने सन्देश निउरेले ६४ बलमा २५ रनको योगदान दिए ।
लेकसाइड क्रिकेट क्लबका बलरमध्ये हरि शंकर तिवारीले १० ओभरमा १९ रन खर्चँदै ३ विकेट लिए । त्यस्तै केशव सुनारले २ विकेट तथा सन्देश शाहीले पनि २ विकेट हात पारे ।
२१५ रनको लक्ष्य पछ्याएको लेकसाइड क्रिकेट क्लब ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १९८ रनमै समेटियो । टोलीका लागि सरोज धामी चौधरीले १३६ बलमा ८२ रनको धैर्यपूर्ण इनिङ खेले भने हरि शंकर तिवारीले ४८ बलमा ३७ रन जोडे ।
अरन्यज्योति क्रिकेट क्लबका बलरहरू प्रभावशाली देखिए । अब्दुल खालिक खानले ९ ओभरमा १८ रन दिएर २ विकेट लिए । अभिशेख भुजेल र प्रविन पौडेलले समान २–२ विकेट लिएर टोलीको जित सुनिश्चित गरे ।
उत्कृष्ट प्रदर्शनका लागि सञ्जीव कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
