पोखरा रंगशाला संरक्षणमा चासो, “हाम्रो हो भन्ने भावना जागृत हुन आवश्यक”

केशब पाठक/पोखरा,
१३ औं दक्षिण एसिशयाली खेलकुद साग सम्पन्न भए संगै पोखरा नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटेको छ ।

पोखराको खेलकुदको मुटु मानिएको पोखरा रंगशालामा निर्माण सम्पन्न भएका पूर्वाद्धार र सम्पन्न हुन लागेको पुर्वाद्धारको अब कसरी संरक्षण गर्ने र नवौं राष्ट्रिय खेलकुदलाई कसरी भव्य बनाउने हो बारे चासो बढन थालेको हो ।

यसै क्रममा निमित्त सदस्य सचिब समेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङको अगुवाईमा शनिवार कास्कीका खेलकुद संघ र अन्य संस्थाहरु विच एक छलफल कार्यक्रम सम्पन्न भएको छ । सोही छलफलमा सहभागीहरुले पोखरा रंगशालाका खेलकुद पूर्वाद्धारहरुको संरक्षणका लागि विशेष पहल गर्नुपर्ने आवश्यक्ता माथी औल्याएका छन ।

कार्यक्रममा बोल्दै निमित्त सदस्य सचिब गुरुङले रंगशाला निर्माणमा राज्यको ठूलो लगानी रहेको कुरा उजागर गर्दै यसको संरक्षणका लागि सबै संघहरुले उत्तिकै चासो दिनु पर्ने बताए । उनले आगामी २०७७ फागुन २० देखि २८ गते सम्म पोखरामा आयोजना हुने नवौ राष्ट्रिय खेलकुद सफल बनाउन कास्कीका खेलकुद र अन्य संघ संस्थाहरु एकतावद्धरुपमा दृढ संकल्पका साथ अगाडी बढ्नुपर्ने धारणा राखे ।

राज्यको अर्वौको लगानी रहेको पोखरा रंगशालाका खेलकुद पूर्वाद्धारहरुको संरक्षण गर्नुपर्ने सबैको उत्तिकै दायित्व रहेको माथी प्रकाश पार्दै त्यसको रेखदेख र मर्मत सम्भार संगै सरसफाई पनि उत्तिकै चुस्त गतिका साथ हुनुपर्ने कुरामा निमित्त सदस्य सचिब गुरुङले जोड दिए । उनले विभिन्न खेलकुदका प्रशिक्षकहरु आवश्यकता अनुसार स्थानिय प्रशिक्षकलाई नियूक्त गरिने समेत बताए ।

छलफलमा सहभागी मध्ये निजी विद्यालयहरुको छाता संस्था प्याब्सनका अध्यक्ष प्रेम प्रसाद शर्मा सुवेदीले रंगशालाको संरक्षणका लागि कार्यविधी बनाएर अगाडी वढ्न सुझाब दिए । उनले निजी क्षेत्रले रंगशाला भित्र कार्यक्रम आयोजना गर्दा केही समस्याहरु रहेको प्रती इगिंत गर्दै एकद्वार प्रणाली अन्तरगत पूर्वाद्धारहरु संचालन गर्न समेत आग्रह गरे ।

उच्च मावि तथा विश्वविद्यालयहरुको छाता संस्था हिसान कास्कीका अध्यक्ष डा.रामजी शर्माले औलोकिक बरदानका रुपमा रहेको माछापच्छ्रेलाई रंगशाला भित्र बन्ने पूर्वाद्धारले छेक्न नहुने बताए । परिषदले संयोजन गर्दै पूर्वाद्धारहरुको संचालन र रेखदेखमा विशेष पहल थाल्न उनले आग्रह गरे ।

सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले खेलकुद पूर्वाद्धारहरुको आवश्यक्ता अनुसार प्रयोग संगै संघहरुले आफ्नो फराकिलो दायरा भित्र रहेर यसको संरक्षण र सम्वद्र्धनका लागि अगाडी वढनु पर्ने बताए । उनले मेगा इभेन्टका रुपमा संचालन हुने आहा रारा फुटबलको ईतिहास माथी प्रकाश पार्दै रंगशाला संरक्षणका लागि उत्तिकै चुनौती र समस्या समेत रहेको धारणा राखे ।

कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले खेलकुद भित्र एकले अर्कोलाई पाखा लगाउने मनस्थिती परिवर्तन गर्न आग्रह गर्दै उनले रंगशाला संरक्षणका लागि सबैले एकजुट भएर अगाडी बढेमा खेलकुद बिकासले गति लिने बताए । कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष डम्बर सिंह गुरुङले १३ औं सागका लागि पोखरामा आएका सामाग्री केन्द्रले फिर्ता माग्नु अझै पनि खेलकुदमा केन्द्रिकृत मानशिकता बाँकी रहेको बताए ।

कार्यक्रममा पोखरा फुटबल स्टेडियम निर्माण कम्पनीका इन्जिनियर नविन गुरुङले रंगशालाको निर्माण अवधीमा कुनै पनि कार्यक्रमहरु आयोजना नगरिदिन विशेष आग्रह गरे । उनले भने–“हामीले हस्तान्तरण गरेका छैनौ तर पनि कार्यक्रम भइरहेका छन, यसले कामको समय सिमा बढन सक्छ ।”

सो अवसरमा कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ, कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुली, पश्चिमाञ्चल क्षेत्रिय कार्यालयका प्रशिक्षण विभागका कृष्ण तिमिल्सिना, लेखा प्रमुख डिबी नेपाली, कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बराल लगाएतले पोखरा रंगशालाको संरक्षणका लागि विशेष पहल गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रम पश्चिमाञ्चल  क्षेत्रिय खेलकुद कार्यालयका प्रमुख लक्ष्मण प्रसाद योगीको अध्यक्षतामा भएको थियो ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close