खेलाडी, प्रशिक्षक र निर्णायकहरुलाई छात्रवृत्तिसहित अध्ययनको अवसर

पोखरा स्पोर्टस । खेलकुद विषयमा स्नातक तह (बिएसम)मा अध्ययन अध्यापनका लागि गण्डकी विश्वविद्यालयले छात्रवृत्तिसहित भर्ना अभियान सुरु गरेको छ ।

खेलकुद विषयमा स्नातक तहमा अध्ययन अध्यापन हुने नेपालको पहिलो र एक मात्र विश्वविद्यालयमा खेलकुद विषयको अध्ययन गर्न चाहनेहरुका लागि छात्रवृत्ति सहित भर्ना अभियान सुरु गरेको हो ।

विश्वविद्यालयले खेलकुद विषयमा दक्ष जनशक्ति उत्पादन हेतु सुरु गरेको चार वर्षमा नै उल्लेख्य रुपमा विद्यार्थीहरुको आकषर्ण बढ्दै गएको जनाएको छ । सेमेष्टरका रुपमा अध्ययन अध्यापन हुने विश्वविद्यालयमा विशेष गरी खेलाडी, प्रशिक्षक र निर्णायकहरुलाई यो अवसर दिन लागेको विश्वविद्यालयका रजिस्टार डा.कैलाश तिमिल्सिनाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

स्नातक तहमा चार वर्षमा कुल ८ सेमेस्टरमा सम्पन्न हुने अध्ययन अध्यापन संगै स्नाकोत्तर तहमा थप अध्ययनका लागि विद्यार्थीहरुले व्यवस्थापन विषयमा समेत अध्ययन गर्न सक्ने गरी पाठ्यक्रम विकास गरिएको रजिस्टार तिमिल्सिनाले बताए । उनले भने–“स्नातक तहको अध्ययन सकिए संगै कुनै पनि विद्यार्थी व्यवस्थापन विषय अध्ययन गर्न सक्ने गरी पाठ्यक्रम रहेकोले कहिं कतै रोकिनु पर्छ भन्ने नै छैन ।”

नेपालमा पहिलो पटक खेलकुद विषय स्नातक तह अध्ययनका लागि खेलाडी, प्रशिक्षक र निर्णायकहरुका लागि थप विशेष रहेको स्पोर्टस म्यानेजमेन्टका कोर्डिनेटर समेत रहेका डा. मधुसुदन सुवेदीले बताए । “भर्खरै प्लस २ (कक्षा १२) अध्ययन सकेका वा कुनै विशेष कारणवश थप अध्ययन गर्न नपाएका खेलाडी, प्रशिक्षक र निर्णायकहरुलाई विश्वविद्यालयले छात्रवृत्ति सहित अवसर प्रदान गरेको छ”–सुवेदी भन्छन्–“विश्वमा खेलकुद व्यवस्थापन अध्ययन गर्ने ‘ट्रेन्ड’ बढेको छ । त्यसैले पनि यो अवसरले नेपाली खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नेछ ।”

नेपालमा स्नाकोत्तर तहमा खेलकुद विषय अध्यापन भइरहे पनि सोको लागि स्नातक तह अध्ययन बलियो जगको रुपमा लिइएको छ । स्नातकतहमा विद्यार्थीहरुको आकर्षण बढाउन छात्रवृत्ति दिएर विशेष अवसर प्रदान गर्न लागिएको र खेलकुद क्षेत्रकै विद्यार्थीहरुको विशेष उपस्थिती हुन सके यसको श्रेय नेपाली खेलक्षेत्रले प्राप्त गर्ने तिमिल्सिनाले बताए ।

नेपाली खेलकुद अझै पनि परम्परागत गिजलिएको अवस्थामा रहेको बताउँदै उनले भने उनले भने–“खेल क्षेत्रमा अध्ययन आवश्यक छैन भन्ने मान्यतालाई हामी चिर्न चाहन्छौं । खेलकुद विशेषज्ञको उत्पादन होस वा खेलकुद कार्यक्रमको व्यवस्थापन अध्ययन आवश्यक छ ।”

यो कार्यक्रम खेल क्षेत्रका लागि विशेष अवसरको रुपमा अघि बढे पनि अन्यका लागि पनि मौका प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले विएसम विषय संगै बिआइटी, बिबिए, बिएएलएलबीमा समेत भर्ना सुरु गरेको छ भने अन्य विषयहरुमा अध्ययन अनुशन्धानका कार्यक्रमहरुलाई समेत अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close