पोखरा स्पोर्ट्स । पोखराको फुटबल इतिहासमा नयाँ अध्याय थपिँदैछ । पोखरा रंगशाला फुटबल स्टेडियम निर्माण सम्पन्न भएको करिब एक दशकपछि पहिलो पटक ‘२५औं आहा! रारा पोखरा गोल्डकप’ फल्ड्लाइटको उज्यालोमा सञ्चालन हुने भएको छ । रजत वर्षमा प्रवेश गरेको आहा! रारा पोखरा गोल्डकपलाई अझै आकर्षक, दर्शकमैत्री र आधुनिक बनाउन आयोजक सहारा क्लबले यो महत्वाकांक्षी निर्णय लिएको हो ।
पोखरामा साँझपख फुटबल हेर्ने संस्कृतिको सुरुवात गर्ने लक्ष्यसहित सहाराले अस्थायी रूपमा फल्ड्लाइट जडान गर्ने भएको छ । यो निर्णयले न केवल प्रतियोगिताको स्तर बढाउनेछ, पोखराको समग्र फुटबल वातावरणलाई नै नयाँ उचाइमा पुर्याउने विश्वास आयोजकको छ ।
क्लबका पूर्व अध्यक्ष विक्रम थकालीका अनुसार दिउँसो खेल हुँदा चाहेर पनि धेरै दर्शक समय निकाल्न नसक्ने अवस्था रहँदै आएको थियो । “काम, व्यवसाय र पढाइका कारण दिउँसो रंगशाला पुग्न नसक्ने दर्शक साँझको समयमा सजिलै फुटबल हेर्न आउन सक्नुहुन्छ,” थकालीले पोखरा स्पोर्ट्ससँग भने, “फल्ड्लाइटमा खेल्दा रोमाञ्चकता बढ्छ, दर्शकको उपस्थिति पनि स्वाभाविक रूपमा बढ्छ भन्ने हाम्रो विश्वास हो ।”
फल्ड्लाइट जडानसँगै खेलको समय साँझतिर सारिनेछ । यसले खेलाडीका लागि पनि अनुकूल वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार साँझको समयमा खेल सञ्चालन हुँदा खेलको गति, ऊर्जा र प्रतिस्पर्धात्मकता थप आकर्षक हुने आयोजकको ठहर छ ।
आयोजक सहारा क्लबले फल्ड्लाइट जडान, सुरक्षा, प्राविधिक व्यवस्थापन र रंगशालाको समग्र व्यवस्थामा यस पटक खर्च बढ्ने क्लबका अध्यक्ष केशव बहादुर थापाले बताएका छन् । उनले भने–“यो हाम्रो नयाँ प्रयास हो । पोखरेली फुटबल प्रेमीहरुलाई केही नयाँ दिन चाहन्छौं । खर्च ठूलो छ तर हामीले आँटेका छौं । पोखरा रंगशालामा स्थायी फल्ड्लाइट जडान गर्न पनि यसले सरकारलाई दवाब दिने छ ।”
अस्थायी भए पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रकाश व्यवस्थापन गरिने र खेलको प्रत्यक्ष प्रसारणमा समेत कुनै असर नपर्ने गरी तयारी भइरहेको क्लबले जनाएको हो ।
२५औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा नेपालका शीर्ष ए–डिभिजन क्लबहरूसँगै विदेशी टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । फल्ड्लाइटमा सञ्चालन हुने प्रतियोगिताले खेलको स्तर मात्र होइन, पोखराको खेल पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ ।
फुटबल मात्र होइन, पोखराको साँझलाई खेलकुद उत्सवमा बदल्ने यो प्रयासलाई पोखराका फुटबलप्रेमीहरूले उत्साहका साथ प्रतीक्षा गरिरहेका छन् । आहा! रारा पोखरा गोल्डकप यस वर्ष केवल प्रतियोगिता मात्र होइन, पोखराको फुटबल इतिहासमा नयाँ युगको सुरुवातका रूपमा स्मरणीय बन्ने संकेत देखिएको छ ।
