
पोखरा स्पोर्टस । नेपालमा नै पहिलो पटक पोखरामा आयोजना भएको राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको उपाधि घरेलु टोली स्पोर्टस क्यासले उचालेको छ ।

एन्फा फुटसल लिग कमिटी द्वारा आयोजित उक्त प्रतियोगितामा काठमाडौको शंखमुल फुटसल क्लवलाई शुक्रवार सम्पन्न फाइनलमा ४–२ ले पाखा लगाउँदै स्पोर्टस क्यासलले उपाधि उचालेको हो । जित संगै घरेलु टोली नेपालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय फुटसल लिगको इतिहास रच्न सफल भएको छ । स्पोर्टस क्यासलले उपाधि संगै नगद १० लाख रुपैयाँ र ट्रफी हात पारेको छ भने उपविजेता बनेको शंखुमलले नगद ५ लाख प्राप्त गरेको छ ।
पोखरेली क्लब स्पोर्ट्स क्यासललाई उपाधि दिलाउन किशोर गुरुङले ह्याट्रिक गरे भने विजय गुरुङले एक गोल गरेका थिए । शङ्खमुलका लक्ष्मण थापा मगर र मणि लामाले समान एक–एक गोल गरे ।
क्यासलले खेलको छैटौँ मिनेटमा विजय गुरुङको गोलमा अग्रता लिएको थियो । शंखमुलका लक्ष्मण थापा मगरले ११ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको २० औं मिनेटमा क्यासलका किशोरले गोल गर्दै अग्रता पुनः लिए । पहिलो हाफमा २–१ को अग्रता लिएको क्यासलले दोस्रो हाफमा समेत २ गोल गर्यो । २१ औं मिनेटमा किशोरको व्यक्तिगत दोस्रो गोलमा क्यासलले ३–१ को अग्रता लियो । २३ औं मिनेटमा शंखमुलका मणि लामाले गोल गर्दै अग्रता घटाएपनि जित हातपार्न भने सकेन् । क्यासलका किशोरले ३९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।
क्यासललाई उपाधि जिताउन किशोर गुरुङले ह्याट्रिक पुरा गरे । असोज २ गतेदेखि लिग संचालन भएको थियो । लिगमा ७ प्रदेशका १० टिमको सहभागिता रहेको थियो । क्यासल लिगको शिर्षस्थानमा रहँदै प्लेअफमा पुगेको हो । प्ले अफमा द राईजिङ क्लब धरानलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । उता शंखमुल लिग तालिकाको तेस्रो स्थानको टिम हो । तेस्रो स्थान रहँदै एलिमेटर खेलमा अर्को घरेलुटोली सविन मेमोरियललाई हराउँदै क्वालिफाइमा पुगेको थियो ।
क्वालिफाइमा राइजिङलाई नै हराउँदै फाइनल प्रवेश गरेको थियो । लगातार चार खेल खेलेका कारण खेलाडी निकै थकित भएको शंखमुलका प्रशिक्षक प्रकाश परियारले बताए । उनले खेलाडीले सोच भन्दा राम्रो खेल खेलेको प्रतिक्रिया दिए । उनले नेपालमै पहिलो पटक वास्तविक फुटसल खेलिएको बताए । यस्तै जितसंगै क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले आफूहरु जितको हकदार भएको प्रतिक्रिया दिए । ‘मलाई मेरो खेलाडीमा विश्वास थियो हामिले उपाधी जित्छौँ भन्नेमा ’उनले भने,‘आजको खेलमा दबाब त थियो नै तर, दर्शकको हौसलाले पनि हामीलाई साथ दियो ।’
लिगको उदीयमान खेलाडी स्पोर्टस् क्यासलका सुमित श्रेष्ठ घोषित भए । उत्कृष्ट गोल किपर शङ्खमुलका अनिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर फुटसल ५ धरानका विजय श्रेष्ठ, उत्कृष्ट विङ्गर शङ्खमुलका मणि लामा र उत्कृष्ट प्रशिक्षक स्पोर्टस क्यासलका विष्णु गुरुङ घोषित भए । उनीहरु सबैले जनही रु २५ हजार नगदका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
लिगको विजेता तथा उपविजेता सहित पाँच विधामा उत्कृष्ट हुन सफल खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ(दीपक मनाङे), अखिल नेपाल फुटबल सङ्घ(एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पा, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव तेज बहादुर गुरुङ, एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फाका महासचिव इन्द्रमान तुलाधर, एन्फा फुटसल संयोजक रत्नकुमार श्रेष्ठ, प्रमुख बिनोद गुरुङ, जिल्ला खेलकुदका अध्यक्ष तोरण बहादुर बानियाँ लगायतले ट्रफी तथा मेडल पुरस्कार वितरण गरे ।
गत असोज २ गतेदखी सुरु भएको प्रतियोगितामा देशका सात प्रदेशबाट गरी १० टोलीले सहभागिता जनाएका थिए ।
फुटसल लिग सकिए लगतै के भन्छन् त एन्फा अध्यक्ष शेर्पा
राष्ट्रिय ए डिभिजन फुटसल लिगको समापन संगै नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा निकै उत्साहित भएको बताए । फुटसलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप सम्पन्न गर्ने योजना पुरा भएको जनाउँदै पोखरा स्पोर्टस संग कुरा गर्दै अध्यक्ष शेर्पाले भने–“अव एन्फाको ध्यान फुटबल विकासका लागि मात्रै नभई फुटसल विकासको लागि समेत अघि बढने छ ।”
राष्ट्रिय लिग बाट नेपालका लागि फुटसलको ८ वटा राष्ट्रिय क्लवहरु स्थापित हुन सफल भएको बताउँदै फुटसल विकासका लागि एन्फाले छिट्टै नै नयाँ योजनाका साथ अघि बढ्ने बताए । उनले भने–“निकै उत्साहपूर्ण रुपमा फुटसल लिगको समापन भएको छ अव फुटसललाई फुटसलकै रुपमा विकास गर्दै अघि बढ्छौं ।”
नेपालमा अझै पनि व्यवसाययिक फुटसलको विकास नभई सकेको धारण अघि सार्दै अध्यक्ष शेर्पाले फुटसल लिगले धेरै यूवाहरुको ध्यान यसतर्फ खिच्न सफल भएको बताए । उनले भने–“हामी धेरै भन्दा धेरै खेलाडी उत्पदान गर्ने योजना मात्रै नभई फुटसल विकासका लागि यसको पूर्वाधारमा पनि उत्तिकै ध्यान दिन्छौं ।
अध्यक्ष शेर्पाले राष्ट्रिय फुटसल लिग सम्पन्न गर्न सहयोग गर्ने सवैलाई आभार समेत व्यक्त गरे ।
