राष्ट्रिय महिला भलिबल : न्यु डायमन्ड दोश्रोपटक च्याम्पियन

पोखरा स्पोर्ट्स । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब अपराजित रहँदै केएनपी नेरोलेक नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ । प्रतियोगितामा न्यु डायमन्ड दोश्रोपटक च्याम्पियन बनेको हो । सातौं संस्करणमा पहिलोपटक न्यु डायमन्ड च्याम्पियन बनेको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा न्यु डायमन्डले डिफेन्डिङ च्याम्पियन नेपाल प्रहरीलाई २५–२२, २५–१८, १५–२५ र २७–२५ ले पराजित गर्‍यो । न्यु डायमन्डकी प्रगति नाथ ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

राउन्ड लिगमा न्यु डायमन्डले नेपाल आर्मीलाई ३–०, एपीएफलाई ३–२ र प्रहरीलाई ३–२ ले हराएको थियो । एक साताको अवधिमा न्यु डायमन्डको यो दोश्रो उपाधि हो । यसअघि न्यु डायमन्डले प्रहरीलाई नै पाखा लगाएर एनभीए भलिबलको उपाधि जितेको थियो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजना तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा सुरुका ६ संस्करणको उपाधि विजेता एपीएफले तेश्रो स्थानमा चित्त बुझायो । एपीएफले आर्मीलाई २५–१३, २५–२३ र २५–१८ को सोझो सेटमा हरायो । एपीएफकी मिना सुनार ‘प्लेयर अफ द म्याच’ बनिन् ।

विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे । न्यु डायमन्डकी प्रतिभा माली सर्वोत्कृष्ट चुनिइन् । प्रतिभाले हाइलाइफद्वारा प्रायोजित ५० हजार नगदसहित ट्रफी पाइन् ।

एपीएफकी मिना सुनार उत्कृष्ट स्पाइकर, न्यु डाइमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, न्यु डायमन्डकै प्रगति नाथ उत्कृष्ट सेटर, प्रहरीकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो, प्रहरीकी पुनम चन्द उत्कृष्ट सर्भर र न्यु डायमन्डका कुमार राई उत्कृष्ट प्रशिक्षक ठहरिए । उत्कृष्ट सबैले जनही २५ हजार नगद पुरस्कार पाए । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजेतालाई प्रदेश खेलकुद परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, आयोजक प्रतिष्ठानकी संरक्षक गमली खड्का, अध्यक्ष रञ्जन खड्का र उपाध्यक्ष सीता खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा ४ टिम सहभागी थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close