
केशब पाठक,
पोखरा, १२ बैशाख । पोखरमा ट्राइयाथलन खेल इतिहासको २८ पुगी सक्दा धेरै पोखरेलीलाई थाहा नहुन सक्छ कि पोखरामा पनि कुनै बेला अन्तर्राष्ट्रिय स्तरको खेल आयोजना हुन्थ्यो भनेर । पोखरा विश्वमा नै धेरै साहशिक खेल गतिविधी हुने मध्येको एक शहर पनि हो । पोखराको प्रकृतीले त्यस्ता खेल गतिविधीका लागि प्रशस्त आयामहरु थपिदिएको पनि छ । तर वास्तविकता संग सामिप्य हुन नसक्दा पोखरेली यस्ता गतिविधी बाट विमुख पनि हुने अवस्था छ ।
सन १९९१ अर्थात ठिक २८ वर्ष अघि पोखरेली ब्यवसायी खास गरि तत्कालिन अवस्थामा पर्यटनको व्यवसाय संग नजिक रहेर पोखराको समृद्धीको सपना देख्ने विश्वशंकर पालिखे लगाएतको टिम सकृय थियो । पालिखे सहित पोखरा लेकसाइड स्थित होटल ट्रागोपानका संचालक स्व. प्रदिप सिंह पवार, गिता भट्टचन, पल मेथिउ, रमेश भट्टचन नेपालमा ट्राइयाथलन खेलका जन्मदाता नै मनिन्छन । यो टिममा रमेशले टेक्निकल डाइरेक्टरको भूमिका खेलेका थिए ।

त्यो दिनलाई सम्झिदै पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष समेत रहिसकेका पालिखे भन्छन–‘बृटिश नागरिक जिन जान र जोनले यो खेलको अवधारणा बुझाए अनि शुरु भयो नयाँ अभियान खेलका माध्यम बाट पर्यटन प्रवर्धन ।’ जहिले पनि पोखरालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन नयाँ कुराको खोजी गर्दै हिड्ने पालिखेलाई ट्राइयथलन खेलले छोयो । तत्कालिन अवस्था पश्चिमाञ्चल होटल संघको अध्यक्ष पनि रहेको अवस्थामा पालिखेले ट्राइयाथलन खेल शुरु गर्ने जर्मको कसे सन १९९१ बाट शुरु भएको यो खेल उनकै नेतृत्वमा सन १९९८ सम्म चल्यो ।
पोखरालाई खेल मार्फत पर्यटन प्रवर्धन गर्ने ट्राइयाथलन जग नै हो । यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तर सम्म पुर्याउन तत्कालिन अवस्थामा बेलायतको ट्रान्स वल्र्ड स्पोर्टस टिभीलाई पोखरा बोलाइयो । इभेन्ट खिच्न ठूलै टोली पोखरा आउने गरेको थियो । हेलिकप्टर बाट भिडियो खिचेर तत्कालै लण्डन पठाइने गरिएको इतिहास सम्झिदै पालिखे भन्छन–‘यो टिभीले हाम्रा प्राय सबै इभेन्टहरु प्रसारण गर्यो, हाम्रो चाहना के थियो भने यो टिभीका माध्यम बाट संसारका पर्यटकलाई लोभ्याउनु अनि पोखरा ल्याउनु, त्यसमा हामी सफल रह्यौं ।’

तत्कालिन अवस्थामा पोखराको ट्राइयाथलन खेलको इतिहास गज्जबको छ । बशुन्धरा पार्क देखि बाराही घाट सम्म २ किलोमिटर पौडी, ४२ किलो मिटरको अन–अफ रोड साइक्लिङ अनि १२ किलोमिटर दौड । बाराही घाट भएर सराङकोट, नौडाडा, हेमजा हुँदै पोखरा सम्म ४२ किलोमिटरको कष्टप्रद साइक्लिङ अनि फेरी पोखरा देखि सराङकोट टावर हुँदै पोखरा सम्म फर्कनु पर्ने १२ किलोमिटरको दौड । ‘यो ट्राइयाथलन निकै कष्टप्रद अनि उत्तिकै रोमाञ्चपूर्ण पनि थियो’ पालिखे सम्झन्छन–‘त्यही भएर एशियन ट्राइयालन संघले यहाँको खेललाई सुचिकृत गर्दै ‘आइरन म्यान’ भन्दा पनि ठूलो ‘हिमालयन म्यान’को उपमा दिएको थियो ।’ खेलाडीले प्रयोग गर्ने साइकल पनि सामान्य खालका हुने गरेको उनले बताए ।

ठूलो खर्च लाग्ने यो खेलका लागि शुरुका दुई संस्करण १९९१ र ९२ मा होटल ट्रागोपानले नै प्रायोजन गर्यो । सन १९९३ को सूर्य टोब्याको, सन १९९४ को तत्कालिन शाही नेपाली वायू सेवा निगम, ९५ को पेप्सीले प्रायोजन गर्यो । यो प्रतियोगिता सन १९९८ सम्म चल्यो । तर विचका केही वर्ष रोकिएर यो निरन्तर पोखरामा आयोजना भइरहेको छ । त्यो समयमा अन्तर्राष्ट्रिय स्तरका करिब ५० जना खेलाडीहरु पोखरा आए तर त्यसमा नेपाली खेलाडीको संख्या भने न्यून नै रह्यो ।
सन १९९६ मा तत्कालिन जिल्ला प्रशासन कार्यालयमा यो खेल दर्ता भयो र पछि यसलाई राष्ट्रिय खेलकुद परिषदमा दर्ता गरियो । परिषदमा दर्ता भए पछि तत्कालिन अध्यक्ष पालिखेले यसलाई गणेशमान पुनलाई नेतृत्व सुम्पे । पालिखेले सम्झे–‘तत्कालिन अवस्थामा खेलकुदमा धेरै राजनिती हुन्थ्यो तर हामीले कुनै नोक झोक नगरी नेतृत्व सुम्पियौं ।’ अहिले संघको नेतृत्वको बागडोर निलेन्द्रराज श्रेष्ठको काँधमा छ । उनले यो खेललाई माथी उठाउन धेरै मेहनत गरेका छन ।
ट्राइयाथलन खेल इतिहासको पोखरामा करिब ३ दशक वितिसक्दा पनि अनौठो कुरा के हो भने पोखरेलीहरुले यसलाई अपनाउन नसक्नु । इतिहास बोकेको खेललाई पोखरेलीहरुले अपनाउन अर्थात स्वामित्व ग्रहण गर्न नसक्दा दुःख लागेको पूर्व अध्यक्ष पालिखेको भनाई छ । पोखराको खेल पर्यटनको जग ट्राइयाथलन लगाएत अन्य खेलकुद गतिविधीलाई प्रदेश लगाएत स्थानिय सरकारले अंगिकार गर्दै अगाडी बढ्न सके खेल खेल मार्फत समृद्धी तर्फ लम्कन पर्खनु पर्ने थिएन की ?
फायल तस्बिरः सुदर्शन रंजित
