
पोखरा स्पोर्ट्स । नेपालकी व्यावसायिक महिला टेनिस खेलाडी अभिलाषा बिष्ट केन्यामा जारी डब्लुटिए (उमेन्स३५) नाइरोबी टेनिस प्रतियोगिताको डबल्सतर्फ क्वार्टरफाइनल चरणमा प्रवेश गर्न सफल भएकी छन् ।
अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) को आयोजनामा सञ्चालन भइरहेको उक्त प्रतियोगिता जनवरी ५ देखि १०, २०२६ सम्म केन्याको नाइरोबीमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको कुल नगद पुरस्कार ३० हजार अमेरिकी डलर रहेको छ । यस अघि उनी क्वार्टरफाइनल चरणमा जित हात पारे पनि सिंगल्सको मेन ड्रमा पराजित बनेकी थिइन् ।
इटालीकी खेलाडी मिकोल साल्भाडोरीसँग जोडी बनाएर प्रतिस्पर्धा गरिरहेकी बिष्टले पहिलो चरणमा भारतकी अश्मिता ईश्वरमूर्ति र इरानकी मन्देगार फरजामीको जोडीलाई सुपरटाइमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएकी हुन् । सम्पन्न खेलमा ६–३ ले जिते पनि दोस्रो सेट १–६ ले गुमाउँदा सुपरटाईमा ११–९ ले जित्दै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएकी छन् ।
अभिलाषा बिष्टले अब बुधबार डबल्स क्वार्टरफाइनल खेल खेल्ने तय भएको छ । प्रतियोगितामा देखाएको उत्कृष्ट प्रदर्शनसँगै उनको डब्लुटिए डबल्स र्याङ्किङमा सुधार आएको छ, जसलाई उनको व्यावसायिक टेनिस करियरको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
अन्तर्राष्ट्रिय व्यावसायिक टेनिस सर्किटमा निरन्तर सहभागिता जनाउँदै आएकी अभिलाषाको सफलताले नेपाली टेनिसको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाएको छ । अभिलाषा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा चार वटै स्वर्ण पदक जित्ने खेलाडी समेत हुन् ।

https://www.itftennis.com/en/tournament/w35-nairobi/ken/2026/w-itf-ken-2025-003/draws-and-results/