
पोखरा स्पोर्टस । ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ मा गण्डकीको महिला टिम अरुणा शाहीको कप्तानीमा उत्रिने भएको छ ।

यहि माघ १ देखि ६ गते सम्म पोखरा रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय महिला टिमकी कप्तान अरुणाको कप्तानी र केही नयाँ खेलाडीका साथ गण्डकी प्रदेशको टोली उत्रिने भएको हो । टाइगर कपमा अरुणाले लगातार चौथो पटक टिमको कप्तानी सम्हाल्न लागेकी हुन् ।
गण्डकीको टोलीमा तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी समेत समावेश छन् । भारतीय खेलाडीहरुमा रबिना, अनन्या राय र कुन्जना सिंह छन् । तीनै जना खेलाडी १९ औं एसियाली खेलकुद अन्तर्गत अन्तिम २४ जना खेलाडीको क्लोज क्याम्पमा समेत थिए । उनीहरु पहिलो पटक पोखरा आउन लागेका हुन् ।
त्यसै गरी पहिलो पटक सजिना बुढाथोकी पहिलो पटक गण्डकीको टिममा समावेश रहेकी छन् । उनी म्याग्दीकी हुन् । बागलुङकी हिमाली रोक्का, दाङकी मनिका विष्ट, स्याङजाकी सोइङ थापा गण्डकीको टिममा समावेश छन् । ”
त्यसै गरी गण्डकीको टिममा रेविना घर्ती मगर, शष्मी पुन र अलिशा रोक्का टिममा समावेश छन् । उनीहरु सबै म्याग्दीका हुन् ।
चौथो टाइगर कपमा गण्डकीको टोली सेमीफाइनल चरण पार गरेको थियो । तर तेश्रो स्थानका लागि भएको खेलमा पराजित भएको थियो । तर यस पटक भने उपाधि नजिक पुग्ने लक्ष्यका साथ आफूहरु तयारी गरिरहेको टिम कप्तान अरुणाले पोखरा स्पोर्टसलाई बताइन् । उनले भनिन–“हामी यस पटक दर्शकलाई निराश बनाउन चाहन्नौ । हाम्रो लक्ष्य उपाधि नजिक पुग्ने हो । हामीले सबै संग सहयोगको अपेक्षा गरेका छौं ।”
गण्डकी प्रदेश भलिबल संघ महिला र पुरुष दुबै टिमको प्रशिक्षकको जिम्मेवारीमा रमेश केसी रहेको डिबी नेपालीले जानकारी दिए ।
टाइगर कप आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाउँदै माघ १ गते विहान ८ः३० बजेबाट सुरु हुने प्रतियोगितामा उपस्थितीका लागि दर्शकहरुलाई आग्रह गरेका छन् । उनले भने–“यो हामी सबै पोखरेलीहरुको गौरव गर्ने समय हो । सबै जनालाई पोखरा रंगशाला आउन आग्रह गर्दछु ।”
