एनएसजेएफ पल्सर अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरू

पोखरा स्पोर्ट्स । पछिल्लो करिब तीन दशकको नेपाली खेलकुद इतिहासमा कुन खेल हाबी रह्यो ? कुन खेलाडीहरूले देशको खेलकुदलाई चम्काए ? यी सबै प्रश्नको उत्तर खोज्न अन्यत्र कतै जानुपर्दैन-एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको इतिहास पल्टाए पुग्छ ।

वर्ष खेलाडी पुरस्कारका रूपमा वि.सं. २०५३ मा सुरु भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड वि.सं.२०८२ सम्म आइपुग्दा २२औँ संस्करणमा प्रवेश गरेको छ, जुन यसपटक गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुँदैछ । प्रत्येक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेल र खेलाडीलाई केन्द्रमा राख्ने यो अवार्ड नेपाली खेलकुदको वास्तविक ऐना बनेको छ ।

अहिलेसम्म सम्पन्न २१ संस्करणमध्ये वि।सं। २०७७ विशेष रह्यो, किनकि त्यस वर्ष ‘दशकको उत्कृष्ट खेलाडी’ अवार्ड प्रदान गरिएको थियो । त्यसबाहेक हरेक संस्करणमा नियमित रूपमा प्रदान हुँदै आएको अवार्डमध्ये एक हो-वर्षको उत्कृष्ट पुरुष खेलाडी ।

तथ्यांकलाई आधार मान्दा अहिलेसम्म १५ जना फरक–फरक खेलाडीले यो प्रतिष्ठित अवार्ड जितेका छन् । तीमध्ये क्रिकेटका पारस खड्का सबैभन्दा अगाडि छन् । उनले एक्लैले चारपटक यो अवार्ड जितेका छन् । पहिलोपटक २०६६ मा, त्यसपछि २०६९ र २०७० मा लगातार, र अन्तिमपटक २०७४ मा । यही निरन्तर उत्कृष्टताका कारण उनलाई २०७७ मा दशककै उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिएको थियो, जुन पूर्णतः न्यायोचित मानिन्छ ।

पारसपछि एथलेटिक्सका राजेन्द्र भण्डारी र तेक्वान्दोका दीपक विष्टले दुई–दुई पटक वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । दीपक विष्ट त नेपाली खेलकुद इतिहासकै सबैभन्दा सफल खेलाडीमध्ये एक मानिन्छन् ।

एकपटक यो अवार्ड जित्ने खेलाडीहरूको सूची पनि लामो र विविध छ । फुटबलतर्फ देवनारायण चौधरी, जुमनु राई, नवयुग श्रेष्ठ, किरण लिम्बू र अञ्जन विष्टले यो सम्मान प्राप्त गरेका छन् । क्रिकेटबाट विनोद दास र पछिल्लो वर्ष रोहित पौडेल यो अवार्ड जित्ने खेलाडी हुन् ।

एथलेटिक्सतर्फ राजेन्द्र भण्डारीपछि लामो अन्तरालमा दीपक अधिकारी वर्षको उत्कृष्ट बने । त्यसैगरी बक्सिङका दीपक महर्जन, गल्फका शिवराम श्रेष्ठ, प्याराग्लाइडिङका युकेश श्रेष्ठ र करातेका मन्डेकाजी श्रेष्ठले पनि एक–एक पटक यो अवार्ड हात पारेका छन् ।

खेलको आधारमा हेर्दा क्रिकेटले सबैभन्दा धेरै छ पटक वर्षको उत्कृष्ट पुरुष खेलाडी उत्पादन गरेको छ भने फुटबल पाँच पटक सफल भएको छ । एथलेटिक्सले तीन पटक, तेक्वान्दोले दुई पटक र बक्सिङ, गल्फ, प्याराग्लाइडिङ तथा करातेले एक–एक पटक यो अवार्ड आफ्नो नाममा लेखाएका छन् ।

यस वर्ष अवार्ड गण्डकी प्रदेशमा आयोजना हुँदै गर्दा पोखरेली खेलाडी युकेश गुरुङ विशेष चर्चा योग्य बनेका छन् । पोखराको पहिचानसँग जोडिएको प्याराग्लाइडिङ खेलबाट उनले उत्कृष्ट प्रदर्शन गर्दै इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा पदक जित्न सफल भएका थिए ।

यसपालि वर्षको उत्कृष्ट पुरुष खेलाडीको दावेदारीमा क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, खो–खोका जनक चन्द र उसुका विजय सिँजाली रहेका छन् । अब हेर्न बाँकी छ-यसपटक एनएसजेएफ पल्सर अवार्डको बाजी कसले मार्ला ? 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close