नेपालगन्ज म्याराथन विजेताले २ लाख पाउने, म्याराथन पुरा गर्ने सबैलाई नगद ५ हजार

 

पोखरा स्पोर्ट्स । ११औं धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज कनक्लेवको तयारी करिब पुरा भए संगै म्याराथनको समेत तयारी पुरा भएको आयोजकले जनाएको छ । यसपटक नेपालगन्ज म्याराथनको विजेताले नगद २ लाख, पदक, प्रमाणपत्र र ट्रफी पाउनेछ । त्यसैगरी महिला हाफ म्याराथनको विजेताले पनि नगद ७५ हजार, पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ ।

पुरुष खुल्ला म्याराथन(४२.१९५ किमी)तर्फ दोस्रो हुनेलाई एक लाख, तेस्रोलाई पचास हजार, चौथोलाई २५ हजार, पाँचौंलाई १५ हजार, छैटौंलाई १० हजार नगदले पुरस्कृत हुनेछ । शीर्ष दश स्थानसम्म हासिल गर्नेलाई नगद पाँच हजारले पुरस्कृत गरिनेछ ।

साथै म्याराथन दौड पुरा गर्ने सबै धावकलाई नगद पाँच हजार, पदक र प्रमाणपत्र प्रदान गरी प्रोत्साहन गरिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । भेट्रान ४५ बर्षमाथि शीर्ष तीनलाई २५ हजार, १५ हजार र १० हजारले पुरस्कृत गरिनेछ ।

त्यसैगरी महिला हाफ म्याराथन(२१किमी)तर्फ दोस्रो स्थान हासिल गर्नेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार, चौथोलाई १५ हजार र पाँचौंलाई १० हजार प्रदान गरिनेछ ।

१० किमी खुला पुरुष तथा महिलातर्फका शीर्ष तीन जनालाई २५हजार, १५हजार र १० हजारले पुरस्कृत गरिनेछ । त्यस्तै पाँच किलोमिटर स्कुल स्तरीय छात्र एवं छात्रा दौडका शीर्ष तीन जनालाई नगद ५ हजार, तीन हजार र दुई हजार पदक र प्रमाणपत्र गरिनेछ भने ह्वीलचेयर तर्फका तीन जनालाई पनि ५ हजार, ३ हजार र २ हजार प्रदान गरिनेछ ।

किड्स रनका सम्पुर्णलाई पदकले पुरस्कृत गरिनेछ । कर्पोरेट रनतर्फका शीर्ष तीन जनालाई पदक, प्रमाणपत्र र सरप्राइज उपहार प्याकेज प्रदान गरिनेछ । उक्त सरप्राइज प्याकेज भने म्याराथनपछि घोषणा गरिनेछ ।

यसपटक नौलो प्रयास
धारा नेपालगन्ज म्याराथनको ११औं संस्करणदेखि एक स्कुललाई ‘नेपालगन्ज ट्रफी’ प्रदान गरिने तयारी छ । स्वस्थ समाज निर्माणका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको मुल्यांकन गर्दै एक विद्यालयलाई यो ट्रफीबाट सम्मान गरिनेछ । धेरै विद्यार्थी सहभागी गराउने मापदण्ड यसपटक बनाइएको छ ।

फिपिक्स पहिलोपटक नेपालमा
म्याराथन वा कनक्लेवमा सहभागीलाई रोमान्चकता अनुभुति गराउने प्रयास स्वरुप फोटो सम्बन्धि फिपिक्स कार्यक्रम कार्यान्वयको तयारी गरिएको छ । यो भियतनामको प्रतिष्ठित आइटी कम्पनी एक्टीयुपीले प्रवर्द्धन गरेको प्रोग्रामिङ हो । स्क्यानरमार्फत सम्बन्धित व्यक्तिको ह्वाट्सएपमा स्वतः तस्वीर आउने कार्यक्रम हो । नेपालमा पहिलोपटक धारा नेपालगन्ज म्याराथनकै भगिनी कार्यक्रम काठमाडौं २५के हेरिटेज रेस र नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्समा कार्यान्वयन गरिएको थियो ।

अन्तर्राष्ट्रिय एक्सपोजरको अवसरै अवसर
धारा नेपालगन्ज म्याराथनले थाइल्याण्ड, मलेसिया, सिंगापुर, भारत, भुटान, बंगलादेश लगायत देशमा सन्चालन हुने प्रतिष्ठित म्याराथनसँग भगिनी सम्बन्ध बिस्तार गरेको छ । यसले विश्वस्तरीय इभेन्टको अनुभव बटुल्न धावकसँगै आयोजनामा प्रतिवद्ध सदस्यहरु, स्वयंसेवक, साझेदार लगायतले अवसर पाउनेछन् ।

यसअघि
११औं धारा नेपालगन्ज म्याराथन सफल बनाउन केएल दुगड ग्रुपको धारा तेल, ज्ञान, शिखर प्लाई, ईसेवा, राष्ट्रिय वाणिज्य बैंक प्रमुख साझेदार रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षक रहेका छन् ।

त्यसैगरी राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश खेलकुद परिषद, नेपाल पर्यटन बोर्ड समेत साझेदार छन् ।

कार्यक्रमका लागि महानायक राजेश हमाल, मिस नेपाल वर्ल्ड २०२५ लुना लुईटेल, मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधान, जेनजी लिडर रक्षा बम, साहित्यकार सुविन भट्टराई, डा नवराज केसी लगायत आउँदैछन् । उनीहरु नेपालगन्ज कनक्लेवका विभिन्न सत्रमा वक्ताका रुपमा रहनेछन् ।

कनक्लेवमा ‘महानगर एक सपनाः उदाउँदो र पुरानो सहर जोड्ने बहस, खेलकुदले जोड्छ देश’, ‘जेनजी विद्रोहपछिको नेपाल : अन्योल र अवसर’, ‘नेपालगन्ज : आर्थिक राजधानीको नारा र सम्भावना, युगदेखि युगसम्मका महानायक’, ‘डिजिटल युगको दोधार : प्रविधि वरदान कि अभिसाप, फाइनप्रिन्ट फिवर’, ७७७ च्यालेन्ज डकुमेन्ट्री प्रदर्शन समेत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close