नवलपुरमा सम्पन्न प्रथम आलोक स्मृति म्याराथनः सन्तोषविक्रम विष्ट प्रथम

पोखरा स्पोर्ट्स  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आयोजित ‘प्रथम आलोक स्मृति म्याराथन दौड प्रतियोगिता’मा नेपाल एपीएफ क्लबका सन्तोषविक्रम विष्ट प्रथम भएका छन् । 

जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा र प्रदेश एथ्लेटिक्स सङ्घ गण्डकीको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा विष्टले ४२.१९५ किलोमिटर दूरी दुई घण्टा ३५ मिनेट तीन सेकेन्डमा पूरा गर्दै उपाधि जिते ।

नेपाल आर्मीका धनु मानन्धर दुई घण्टा ३५ मिनेट ३४ सेकेन्डमा दूरी पार गर्दै द्वितीय भए भने आर्मीकै रिखुलाल सिञ्जाली दुई घण्टा ४३ मिनेट नौ सेकेन्डमा दौड पूरा गरी तृतीय स्थानमा रहे । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । चौथो र पाँचौँ स्थान हासिल गर्ने शक्तिराम रोका र पञ्चराम बुढा मगरलाई पाँच/पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकालाई छुने आलोक चक्रपथ परिक्रमा गर्ने गरी प्रतियोगिता आयोजना गरिएको हो । कावासोती–३ बाट सुरु भएको दौड डण्डा, गिरुवारी, चोरमारा, कोल्हुवा, गोछडा हुँदै पुनः डण्डासम्म ४२ किलोमिटर दूरी तय गरिएको थियो ।

आलोक स्मृति म्याराथनसँगै ‘दौडिन्छ नवलपुर’ कार्यक्रमअन्तर्गत पुरुषतर्फ १० किलोमिटर र महिलातर्फ पाँच किलोमिटर दौड प्रतियोगितासमेत सम्पन्न भएको छ ।

पुरुष १० किलोमिटर दौडमा काठमाडौँका टङ्क कार्की प्रथम, कपिलवस्तुका अजय पाण्डे क्षेत्री द्वितीय र सङ्खुवासभाका तेन्जिङ शेर्पा तृतीय भए । महिलातर्फ पाँच किलोमिटर दौडमा दाङकी सुमित्रा चौधरी प्रथम, धनगढीकी देवकीकुमारी धामी द्वितीय र बैतडीकी मञ्जु धामी तृतीय स्थानमा रहे ।

पुरुष तथा महिला दुवै तर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित मेडल प्रदान गरिएको थियो ।

प्रजातान्त्रिक योद्धा यादवनाथ न्यौपाने (आलोक)को स्मृतिमा २०५० सालमा आलोक चक्रपथ नामकरण गरी तीन पालिकालाई सडक सञ्जालले जोड्ने उद्देश्य राखिए पनि हालसम्म चक्रपथ निर्माण हुन नसकेको भन्दै प्रदेश तथा सङ्घ सरकारको ध्यानाकर्षण गराउन तथा चक्रपथ वरपरका धार्मिक र पर्यटकीय क्षेत्रको खेलकुदमार्फत प्रचार–प्रसार गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले जानकारी दिए ।

त्यस्तै, नवलपुरको नमूना सदरमुकामभित्र निर्माण गरिने भनिएका खेलकुद संरचनामा अपेक्षित तदारुकता नदेखिएको विषयलाई उठान गर्न पनि प्रतियोगिता आयोजना गरिएको शर्माको भनाइ छ।

पहिलोपटक आयोजना गरिएको प्रतियोगिताले जिल्लामा म्याराथन खेलको विकासमा सहयोग पुग्ने विश्वास जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले व्यक्त गरे । आगामी दिनमा प्रदेशसँगको समन्वयमा प्रतियोगितालाई निरन्तरता दिइने जनाइएको छ । समापन कार्यक्रममा भोदी खेलको प्रदर्शनी खेल समेत आयोजना गरिएको थियो भने स्थानियहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुती गरेको सदस्य सचिब शर्माले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close