
पोखरा स्पोर्ट्स । २२औं माछापुच्छ्रे बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुक्रबारबाट पोखरामा सुरू भएको छ । प्रतियोगिताको पहिलो दिन मेन्स सिंगल्स ओपन र भेट्रान्स उमेर समुहका खेलहरु सुरू भएका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा सुरू भएको प्रतियोगिताको पहिलो दिन ओपन मेन्स सिंगल्सतर्फ करन बहादुर थापाले शास्वत बज्राचार्यलाई, सन्दिप विकले प्रफुल्ल श्रेष्ठलाई, जेयुन किमले पेमा नोर्बुलाई, प्रितम परियारले उमिद शेर्पालाई, सुरेन्द्र विकले अन्जोअ थिङलाई, बिवेक मगरले देव आशिषलाई पराजित गरे । त्यसैगरि आशव सम्राट हाडाले सुमन थारुलाई, दर्शिल श्रेष्ठले निश्चल कायस्थलाई, उगेन शेर्पाले मनोज महर्जनलाई, प्रकाश गुरुङले सुमन त्रिपाठीलाई, सोमज श्रेष्ठले पासाङ शेर्पालाई पराजित गरे ।
४५ वर्ष माथिएको मेन्स सिंगल्समा शरण गुरुङले बलराम सापकोटालाई, निरज थापाले नारायण पहारीलाई, भिष्मराज पौडेलले सुनिल श्रेष्ठलाई, सेजार गुरुङले विकास गुरुङलाई पराजित गरे । ४५ वर्ष माथिको डबल्समा गोपीबहादुर भट्टराई र धरमसिंह लामिछानेको जोडीले केवी तामाङ र विरेन लामाको जोडीलाई पराजित गरे ।
५५ वर्ष माथिको एकलमा जितेन्द्र प्रधानले हेमचन्द्र गुरुङलाई, करिमुल्ला मुस्लिमले नवाङ लामालाई, जितेन्द्र खड्काले सुरेन्द्र माकाजुलाई पराजित गरे । ५५ वर्ष माथिकै डबल्सतर्फ अनु जोन र मनु त्रिपाठीको जोडीले प्रकास बस्नेत र मनोज नेपालको जोडीलाई तथा देव क्षेत्री र हिमाल शाहको जोडीले यज्ञबहादुर भण्डारी र अमृत गुरुङको जोडीमाथि जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।
पोखराको प्रतिष्ठित प्रतियोगिता मध्येको एक उक्त प्रतियोगिताको उद्घाटन गर्दै माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले केसी ग्रुप अन्तर्गत रहेका सबै औधोगिक एवं व्यवसायिक संस्थानहरुले खेलकुदको विकासमा अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने–“हाम्रो ग्रुप अन्तर्गत रहेका सबै औंधोगिक एवं व्यवसायिक संस्थानहरुलाई हामीले खेलकुदमा लगानी गर्न उत्सुक गराएका छौं । दशवटा अस्पताल खोल्नु भन्दा एउटा खेल मैदान निर्माण हुनु जिवनरक्षाका लागि फलदायी हुन्छ भन्ने हाम्रो विश्वास छ ।”
पोखराको खेलकुदमा आहा रारा गोल्डकप, स्क्वास, टेनिसलगायत दर्जनौं खेलकुदका कार्यक्रम तथा निर्माणलाई सम्पन्न गर्न आफ्नो वुवाको समेत उत्तिकै महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै अध्यक्ष केसीले आफ्नो बुवाको पदचापलाई पछ्याउँदै खेलकुदको विकास र सम्वर्द्धनमा आफूहरु लागि रहने प्रतिवद्धता समेत जनाए । पोखराको टेनिस समेत निकै कठिन घडीबाट माथी आएको स्मरण गर्दै उनले कुनै पनि प्रतियोगिताले २२औं सस्करण पुरा गर्नु आफैमा महत्व राख्ने जनाए । उनले आगामी दिनमा समेत प्रतियोगिता आयोजना गर्न सहयोग रहने उनको भनाई थियो ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा सुरू भएको प्रतियोगिताको उद्घाटन अवसरमा बोल्दै अध्यक्ष राज कुमार गुरूङले प्रतियोगिता सफल बनाउन सहयोग गर्नेहरु प्रति आभार प्रकट गरे । त्यस्तै सो अवसरमा संघका सचिब एवं टुर्नामेन्ट डाइरेक्टर नविन चालिसेलगायतले आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा संघका सल्लाहकार द्वय गोपी बहादुर भट्टराई र शेरचनलाई उनीहरुले कास्कीको टेनिस खेलको विकासमा पुर्याएको योगदानका लागि सम्मान गरिएको थियो ।
पाँच दिन सम्म सञ्चालन हुने प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगदसहित, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । प्रतियोगितामा सिंगल्स र डबल्समा पुरुषतर्फ १६० जना तथा ८ जना महिला गरी कुल १६८ जना खेलाडीहरुको सहभागिता रहेको छ ।
