
पोखरा स्पोर्टस । १६औं पोखरा महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा ५औं मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०८२ अन्तर्गत एथलेटिक्स, भलिबल, उशु, तेक्वान्दो, कबड्डी र करातेका विभिन्न विधाका प्रतिस्पर्धाहरु पोखरा रंगशालामा दोस्रो दिन जारी रहेका छन् ।
जारी प्रतियोगितामा एथलेटिक्सकी अनुस्का अधिकारीले दोहोरो स्वर्ण पदक जितेकी छन् । उनले १०० मिटर दौड र लङ जम्पमा दोहोरो स्वर्ण पदक जितेकी हुन् । जारी प्रतियोगितामा दोहोरो स्वर्ण पदक हाल सम्म प्राप्त गर्ने उनी एक मात्र खेलाडी बनेकी छन् ।
प्रतियोगिता अन्तर्गत तेक्वान्दो र करातेका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएको महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका छन् । तेक्वान्दोतर्फ शहिद स्मृति आवासिय मावी च्याम्पियन भएको छ । प्रतियोगिताको समापन शुक्रबार हुनेछ ।

जारी प्रतियोगिता अन्तर्गत जाभेलिन थ्रो ब्वाइजतर्फ हार्वड एकेडेमीका निशान केसीले ३४.५२ मिटरको थ्रो गर्दै प्रथम स्थान हासिल गरे भने श्री शहिद स्मृति आवासिय मावीका विजय तामाङ ३२.९० मिटरका साथ दोस्रो र जनप्रिय माध्यमिक विद्यालयका आलोक आचार्य ३२.३४ मिटर थ्रोसहित तेस्रो भए ।
जाभेलिन थ्रो गर्ल्सतर्फ कालिका माध्यमिक विद्यालय, पोखरा–१० की सुनिता गोलेले १७.९७ मिटर थ्रो गर्दै स्वर्ण पदक जितिन् । श्री विष्णुपादुका विद्यालयकी पुष्पा बीके दोस्रो र श्री शहीद स्मृति विद्यालयकी सन्जु बीके तेस्रो भइन् ।
४×१०० मिटर रिले गर्ल्सतर्फ फिष्टेल एकेडेमीले ५९.५९ सेकेन्डको समयसहित पहिलो स्थान प्राप्त गर्यो । कास्की मोडर्नाइज्ड एकेडेमी १.०१.२२ सेकेन्डका साथ दोस्रो तथा छोरेपाटन माध्यमिक विद्यालय १.०२.०५ सेकेन्डसहित तेस्रो स्थानमा रह्यो ।
ब्वाइज ४×१०० मिटर रिलेतर्फ कास्की मोडर्नाइज्ड एकेडेमीले ४६.७५ सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हात पार्यो भने हार्वर्ड एकेडेमी ४६.९० सेकेन्डका साथ दोस्रो र सैनिक आवासीय माध्यमिक विद्यालय ४७.६० सेकेन्डमा तेस्रो भयो ।
लङ जम्प गर्ल्सतर्फ सगरमाथा माध्यमिक विद्यालयकी अनुस्का अधिकारीले ४.२९ मिटर जम्प गर्दै प्रथम स्थान हासिल गरिन् । त्रिवेणी पब्लिक माध्यमिक विद्यालयकी एन्जल अधिकारी दोस्रो र लिटल फ्लावर माध्यमिक विद्यालयकी सुजाता कुमाल तेस्रो भइन् ।
लङ जम्प ब्वाइजतर्फ कालिका माध्यमिक विद्यालयका अमन दुराले ५.२६ मिटर जम्प गर्दै स्वर्ण पदक जिते भने पोखरा युनाइटेड माध्यमिक विद्यालयका कृष्ण बहादुर दोस्रो र अन्नपूर्ण माध्यमिक विद्यालयका विशाल बीके तेस्रो स्थानमा रहेको टेक्निकल टिमका संयोजक सिद्धान्त अधिकारीले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका छन् ।
प्रतियोगिता अन्तर्गत अन्य इभेन्टहरु जारी रहेको आयोजकले जनाएको छ । महानगरले प्रतियोगितामा बिजेताहरुलाई नगद समेत प्रदान गर्ने घोषणा गरेको छ । महानगरले जारी प्रतियोगिता सम्पन्न गर्न ३५ लाख विनियोजन गरेको छ ।
प्रतियोगिताले पोखराका विद्यालयस्तरीय खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।


