
पोखरा स्पोर्टस । लगातारको वर्षा पछि पोखरा रंगशालाको टेनिस कोर्टमा हालिएको साढे चार लाखको सुर्की पानीले बगाएको छ ।

नवौं राष्ट्रिय खेलकुदको पूर्व तयारी अनुरुप कास्की जिल्ला टेनिस संघले मर्मत गर्न लागेका ७ वटा कोर्टको सुर्की पानीले बगाएको हो । नवौंको तयारीका लागि सबै मेहनत वर्षाले प्रभावित बनाएको संघका अध्यक्ष लोक बहादुर गुरुङले पोखरा स्पोर्टसलाई बताए । “हामी नवौंका लागि निकै उत्साहित भएर कोर्ट मर्मत गरिरहेका थियौं । तर लगातारको वर्षाले हामीलाई स्तव्ध बनाएको छ”, उनले भने–“हामीले अहिले सम्म साढे ४ लाखको सुर्की सहित ७ लाख खर्च गरिसक्यौं तर सवै मेहनत खेर गयो ।”
यति धेरै रकम खर्च भने कास्की जिल्ला टेनिस संघले रकम प्राप्त हुने मौखिक आश्वासनको भरमा गरेको अध्यक्ष गुरुङले बताए । राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत गठित खेलस्थल व्यवस्थापन उपसमिति र प्रदेश खेलकुद परिषद गण्डकीले मर्मतका लागि मौखिक रुपले खर्च भएको रकम दिने भनेकाले नै मर्मत गर्न सुरु गरिएको तर अहिले सम्म कतैबाट पनि रकम उपलव्ध नभएको उनले बताए ।
उनले समयमा रकम प्राप्त भएमा आफूहरुले नवौंका लागि कोर्ट तयार गर्ने बताए । “हामी पछि भने परेका छैनौं”, उनले भने–“समयमा रकम आएमा पुनः सुर्की किनेर समयमा मर्मत गर्नेतर्फ लाग्छौं ।”
