एन्फा ड्रिम प्रोजेक्टमा ठगिएको पोखरा, साफ यू१९ महिला च्याम्पियनसिप अनि पोखरा फुटबल स्टेडियम

पोखरा स्पोर्ट्स । नेपाली फुटबल संघको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)लाई नेतृत्व हत्याइराख्न के गर्नु पर्छ राम्रै संग थाहा छ । अब निर्वाचनको तयारीमा रहेको एन्फालाई यति बेला पोखराको सम्झनाले सताएको छ ।

सन २०१३ मा पोखरा रंगशाला निर्माणाधिन अवस्थामानै एक मात्र आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता साग महिला फुटबल आयोजना भएको थियो । १३औं सागमा सो प्रतियोगिता भए देखि लामो समय यता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता कुन चराको नाउँको पोखरेलीहरुले थाहा पाउन सकेनन् । नेपालको एक मात्र ठूलो रंगशाला दर्शक क्षमताले समेत ठूलो रहेको पोखरा फुटबल स्टेडियममा एन्फाको आँखा पुग्न नसक्नु अर्को दुर्भाग्य बन्यो ।

अर्कातर्फ विश्व फुटबलको छाता संस्था फिफाको स्विकृती तथा सहयोगमा कास्कीको माछापुच्छ्रेमा निर्माणका लागि तय भएको ड्रिम प्रोजेक्टलाई समेत एन्फा नेतृत्वले चासो दिएन । माछापुच्छ्रे गाउँपालिकाले उपलव्ध गराएको करिव ४ सय रोपनी भन्दा बढिको जग्गा ड्रिम प्रोजेक्टको नाउँमा अलपत्र बन्यो । ड्रिम प्रोजेक्टका लागि फिफाले पठाएको रकम समेत एन्फाले छुट्टै परियोजनामा खर्च गर्यो । २०५८/०५९ सालमा पोखरामा सुरूवात गरेको एन्फा एकेडेमीलाई बुटबलको तिनाउ खोलाको तीरमा लगेर पोखरेलीहरुलाई २४/२५ वर्ष अघि बाट नै ठगेको एन्फाले ड्रिम प्रोजेक्टको समेत उस्तै हविगत बनाएको यर्थाथता पोखरेलीहरु सामु घाम जत्तिकै छर्लङ्ग छ ।

तर यति बेला एन्फा पुनः पोखरा आउन सल्बल्याएको छ । यो सल्बल्याउनु पर्ने कारण अब एन्फाको केन्द्रिय महाधिवेशन हो । हुन त एन्फाले कास्कीलाई मताधिकार दिएको छैन । किनभने एन्फाले मताधिकार दियो भने विरोध मात्रै होइन निर्वाचनमा समेत प्रभाव पर्ने त्रासमा छ । राजनितिक खिचातानी, कास्कीमात्रै नभई गण्डकी प्रदेशका अन्य जिल्लालाई समेत छानी छानी मताधिकार दिनु र गण्डकी प्रदेशबाट एन्फामा आवद्ध जिल्लाहरुलाई फुटाउ र राज गर भन्ने मनस्थितीका कारण गण्डकी प्रदेशको फुटबल खस्किदै गएको छ । तर यस बारे एन्फालाई खासै चासो छैन । जुन विषयमा एन्फाको केन्द्रिय नेतृत्व सफल समेत बनेको छ ।

यसै बीच मंगलबार एन्फाको एक टोली दक्षिण एसियाली फुटबल महासंघ (साफ)का महासचिब पुरुषोत्तम कट्टेल र एन्फा महासचिब किरण राईसहितको टोली पोखरा आयो । एन्फाको उद्धेश्य पोखरामा जनवरी २९, २०२६ मा साफ यू१९ महिला च्याम्पियनसिपको तयारीका लागि थियो । उनीहरुले पोखरा फुटबल स्टेडियमको अवलोकन गरे । ४ देखि ६ टिम सहभागिता हुने कुरा पनि सुनाए । तर यो सबै पोखरेलीहरुलाई ललीपप जस्तै हो । एन्फा पोखराको फुटबल विकासका लागि चुकेको छ । सि र बी स्तरका रेफ्रि र प्रशिक्षक कार्यक्रमका लागि २–४ लाख दिएर उम्किने एन्फाका लागि यो अवलोकन अवलोकनका लागि मात्रै हुने हो वा साफ यू–१९ च्याम्पियनसिपका लागि हुने हो त्यो हेर्न बाँकी नै छ ।

एन्फाको वर्तमान नेतृत्वबाट ठगिएको पोखराको फुटबल विकासका लागि यदि साफ यू १९ महिला च्याम्पियनसिप हुने हो भने त्यसले केही फरक पार्न सक्नेमा जिल्ला खेलकुद विकास समिति कास्की विश्वस्त छ । तर रंगशालाका लागि आवश्यक पूर्वाधार फल्ड्लाइट, स्क्रिन बोर्डलगायत अन्य विषयहरुमा एन्फा नेतृत्वले के गर्ने भन्ने बारे अझै निक्र्यौल हुन भने सकेको छैन । एन्फाको यो अवलोकन ड्रिम प्रोजेक्ट जस्तै नहोस । साफ यू–१९ महिला च्याम्पियनसिप आयोजना होस । कोमामा रहेको यहाँको फुटबललाई माथी उठाउन एन्फा नेतृत्वको पहल होस ।

तस्बीर :सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close