सूर्य नेपाल वेस्टर्न ओपन गल्फ पोखरामा बुधबारबाट सुरु हुँदै

कुल ८ लाख ४० नगद पुरस्कारका लागि ५० जना भिड्दै

पोखरा स्पोर्टस । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौथो प्रतियोगिता अन्तर्गतको ‘सूर्य नेपाल वेष्टर्न ओपन पोखरामा बुधबारबाट सुरु हुने भएको छ ।

हिमालयन गल्फ क्लब, पोखरामा सञ्चालन हुने सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर गरी कुल ५० खेलाडीहरुको सहभागीता रहने आयोजक प्रोफेसनल गल्फ संघले मंगलबार एक पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

तीन दिन सम्म चल्ने प्रतियोगिता कुल ५४ होलको हुने आयोजक संस्थाका महासचिब दिपक आचार्यले जानकारी दिएका छन् । यो सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेका उपाधि विजेता दिनेश प्रजापति सहित पुर्व नम्बर १ खेलाडीहरु भुवन नगरकोटी र रवि खड्का, जयराम श्रेष्ठ, नीरज तामाङ, सञ्जय लामा, धन बहादुर थापा दाबेदार खेलाडी रहेको आयोजकले जनाएको छ ।

त्यसै गरी प्रतियोगितामा नेपाली राष्ट्रिय गल्फ टिमका एमेच्योर खेलाडी सदभाव आचार्य पनि दावेदार मध्येका एक रहेको आयोजकले जनाएको छ । सदभावले यो सिजनको पहिलो प्रतियोगिता, सुर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका थिए ।

प्रतियोगितामा गण्डकी प्रदेशबाट भू बहादुर गुरुङ, सञ्जिब सिके र दल बहादुर लामाको सहभागिता हुनेछ । हिमालयन गल्फ कोर्ष उनीहरुका लागि होम ग्राउण्ड समेत रहेकोले अपेक्षाकृत रुपमा केही फाइदा लिन सक्ने आयोजकले जनाएको छ । यता एम्येच्योरतर्फ गण्डकीका ५ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई र सुबाश तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेकोले यस प्रतियोगितामा सहभागीता नजनाउने आयोजकले जनाएको छ । गत महिना धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर शुक्र भारतीय गल्फ टुरमा सहभागिता जनाउन गएको र पूर्व नम्बर एक एमेच्योर गल्फर सुबाशले प्रोफेसनल गल्फ टुर अफ इण्डियाको क्वालीफाईङ्ग स्कूलमा दोश्रो हुँदै भारतीय गल्फ टुरको २०२४ सिजनको लागि कार्ड प्राप्त गरेका छन् ।

प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागु हुने र२१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन् । एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउने आयोजकले तय गरेको छ ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमश ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। चौंथो र पाँचौं स्थान प्राप्त गर्न प्रोफेसनल खेलाडीले क्रमशः ५९ हजार र ५० हजार हात पार्नेछन् । साथै उत्कृष्ट २१ मा पर्न सफल अन्य गल्फरले नगद हात पार्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता सञ्चालन हुनेछ। सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन् । जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा आफ्ना भनाई राख्ख्दै गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष एवं गण्डकी प्रदेश सभाका पूर्व सांसद इन्द्रधारा विष्टले गण्डकी प्रदेश गल्फ खेलका लागि महत्वपूर्ण रहेको जनाउँदै गल्फ पर्यटन विकासका लागि राज्यको ध्यान जानु पर्ने बताए । उनले भने–“अन्नपूर्ण र माछापुच्छ्रे हिमाललाई काखमा राखेर यहाँ गल्फ खेल्नुको छुट्टै आनन्द छ । त्यसै पनि गल्फ कोर्षहरुको विकासका लागि राज्यको ध्यान आवश्यक छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close