कास्कीको अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरू, प्रदेश प्रमुख भट्टले गरे उद्घाटन

 

पोखरा स्पोर्ट्स । कास्को अन्नपूर्ण गाउँपालिकामा बिहिबारबाट छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ ।

सो प्रतियोगिताको एक समारोहका बीच गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरे । सो अवसरमा आफ्ना भनाई राख्दै प्रदेश प्रमुख भट्टले हरेक व्यक्तिको शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि पनि खेलकुद अपरिहार्य रहेको बताएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीलाई हौसला दिन प्रमुख अतिथिका रुपमा पुग्नुभएका प्रदेश प्रमुख भट्टले खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पुर्‍ याउने भएकाले यसको विकास र सम्वर्द्धन जरुरी रहेको बताए ।

गाउँस्तरीय खेलकुदमार्फत् खेलाडीहरु छनौट गर्दै जिल्ला प्रदेश हुँदै केन्द्रमा अन्तिम प्रतिष्पर्धा हुने प्रक्रिया रहेको राष्ट्रपति रनिङ शिल्ड खेलकुदको स्वरुप सुन्दर रहेको उनको भनाई छ । ‘गाउँ तहबाटै विद्यार्थीहरूले सहभागिता जनाउन पाउने भएकाले हजारौं विद्यार्थीहरू खेलकुदमा सहभागी हुने अवसर मिलेको छ ।’ प्रदेश प्रमुख भट्टले भने–‘यस प्रतियोगिताका कारण दूरदराज गाउँहरूबाट खेलाडीहरू उत्पादन गर्न सहयोग पुग्दै आएको छ । स्थानीय खेलकुदको प्रवद्र्धन पनि यसको अर्को सकारात्मक पक्ष हो ।’

यो प्रतियोगिताले युवा विद्यार्थीहरूमा जोश, जाँगर र आत्मबल थप्दै विद्यार्थी, गाउँबासी र जनप्रतिनिधिबीचको सम्बन्ध प्रगाढ बनाउन पनि भूमिका खेलेको उनले बताए । प्रदेश प्रमुख भट्टले खेलकुदमा युवा सहभागिताले किशोरकिशोरीलाई स्वास्थ्य सम्बन्धी जीवनशैलीमा संलग्न रहन र उनीहरूको शारीरिक स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने उनले उल्लेख गरे ।

‘सानै उमेरमा खेलकौशल हासिल गर्नाले व्यक्ति परिपक्व हुन्छ । अनि भविष्यमा सान्दर्भिक गतिविधिहरूमा संलग्न हुने सम्भावना बढ्छ ।’ उनले भने–‘युवाले खेललाई जीवनको माध्यम बनाउँछन्, यसले आत्मसम्मान बढाउँछ । सामाजिक सीपहरू विकास गर्न सक्छ र उपयुक्त नेतृत्व क्षमताको पनि विकास गराउँछ ।’

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रवक्ता भरतमान गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि बराल लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close