
पोखरा स्पोर्ट्स/शैलेस अधिकारी । नेपालको राष्ट्रिय क्रिकेट टोलीले टि२० विश्वकप २०२६ को छनोट यात्रामा एक कदम अघि बढ्दै आफ्नो प्रदर्शनबाट आशा जगाएको छ ।
पछिल्ला खेलहरूमा देखिएको उत्कृष्ट फिल्डिङ, दिपेन्द्र सिंह ऐरीको चम्किलो प्रदर्शन, र टोलीको समर्पणले नेपाललाई विश्वमञ्च नजिक पुर्याएको हो ।
खेलका क्रममा नेपालले मैदानमा गरेको फिल्डिङ प्रदर्शन विश्वस्तरको देखिएको छ। रन बचाउने शिघ्रता, क्याच लिने कलात्मकता र सन्देश दिने फिल्डिङले विपक्षी टोलीलाई दबाबमा राख्न सफल भएको छ ।
त्यही बेला, दिपेन्द्र सिंह ऐरीले ‘गेम चेन्जर’ को भूमिकामा आफूलाई प्रमाणित गर्दै आएका छन् । ब्याटिङ, बलिङ र फिल्डिङमा उनी निरन्तर चम्किरहेका छन् । छोटो समयमा खेलको दिशा बदल्न सक्ने उनको क्षमता अहिलेको नेपाली टोलीको मुख्य हतियार बनेको छ ।
यद्यपि, नेपाललाई अझै पनि ब्याटिङतर्फ चुनौतीहरू कायमै छन् । लगातार राम्रो सुरुआतको अभाव, शीर्षक्रमको अस्थिरता, र अनुभवी संयोजनको कमीले टोलीलाई ठूला स्कोर बनाउन कठिन भइरहेको छ ।
फिल्डिङ र व्यक्तिगत प्रदर्शन उत्कृष्ट छन्, तर ब्याटिङमा सुधार नगर्दासम्म विश्वकप प्रवेश कठिन हुन सक्छ। तर हालको लयलाई हेर्दा नेपाल विश्वकपको ढोकासम्म आइपुगेको छ ।
देशभरि क्रिकेटप्रतिको प्रेम चुलिँदो छ। पोखरा लगायत विभिन्न शहरमा नेपाली टोलीलाई साथ दिन उत्साही समर्थन देखिएको छ । अहिलेको लयलाई कायम राख्न सके, नेपाली टोलीले टि२० विश्वकप २०२६ मा ऐतिहासिक उपस्थिति जनाउने पक्कापक्की छ ।
