
पोखरा स्पोर्ट्स । छैठौं टिम टेनिस नेपाल जुनियर ओपन टेनिस प्रतियोगिता–२०२५ मा गण्डकी प्रदेशका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
मंगलबार काठमाण्डौंमा सम्पन्न प्रतियोगितामा गण्डकीका सुरेन्द्र बिक र अभिषेक गुरुङ डबल्समा उपविजेता बनेका छन् । यू–१२ ब्वाइज डबल्सको फाइनलमा आरभ सम्राट हाडा र विश्व डल्लाकोटीको जोडीले सुरेन्द्र र अभिषेकलाई ६–३ र ६–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।
त्यसअघि, यू–१६ ब्वाइज सिंगल्समा पनि गण्डकीका सुरेन्द्र बिक उपविजेता बनेका थिए । पहिलो पटक सहभागिता जनाएका सुरेन्द्रले प्रतियोगिताको क्वार्टरफाइनलमा नेपाल नम्बर–२ वरियतालाई पराजित गर्दै सनसनी मच्चाएका थिए । उनले एकै दिन विभिन्न उमेर समूहका चार खेल खेलेका थिए । लगातार खेलको कारण सोमबार सम्पन्न फाइनलमा भने उनी कोर्टमा उत्रिन नसकी वाकओभर दिनु परेको गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले जानकारी दिए ।
अध्यक्ष कायस्थका अनुसार, “१४ वर्षको बालकलाई एकै दिन चार–चार वटा खेलमा उतार्नु आयोजकको कमजोरी हो । त्यसकै असरले सुरेन्द्रले फाइनलमा खेल्न पाएनन्, जुन खेलाडीका लागि मात्र होइन, हाम्रो लागि पनि दुःखद विषय हो ।”
उनका अनुसार, सुरेन्द्रले पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै अबको दिनमा नेपाली टेनिसमा आफ्नो छुट्टै पहिचान बनाउन सक्ने सम्भावना देखाएका छन् ।
त्यसै गरी यू–१२ सिंगल्समा अभिषेक बयलकोटी तेस्रो भएका छन् यू–१६ तर्फ शरण विक पनि तेस्रो स्थान प्राप्त गरे । ओपन डबल्समा शरण विक र अनोमल नेपालीको जोडीले तेस्रो स्थान प्राप्त गर्दा ओपन डबल्समा दर्शन अधिकारी र अभिषेक बयलकोटीको जोडीले समेत् तेस्रो स्थान प्राप्त गर्न सफल रहे ।
यहि असोज २५ देखि २८ असोज सम्म सञ्चालन भएको प्रतियोगितामा खेल्छ गण्डकी कार्यक्रममा प्रशिक्षणरत सुरेन्द्र विक, अभिषेक गुरूङ, दर्शन अधिकारी र शरन विकले यू–१४ र यू १६तर्फ सिंगल्स तथा डबल्समा सहभागिता जनाएका थिए। त्यस्तै अनोमल नेपाली र अभिषेक बलयकोटीले यू–१२ र यू–१४ दुबैतर्फ प्रतिस्पर्धा गरेका थिए । यसै गरी टिम अफिसियलमा जिया गुरूङ रहेकी थिइन् ।


