
पोखरा स्पोर्ट्स । नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्नो रजत वर्ष महोत्सवमा आयोजना गरेको ५० वर्ष भन्दा माथीको भेट्रान्स महिला/पुरुष एवं मासिक दौडअन्तर्गत आयोजित छात्र/छात्रा दौड सम्पन्न भएको छ ।
पोखरा रंगशालामा आयोजित ५० वर्ष भन्दा माथिको ५ किमि दौडमा पुरुषतर्फ किशोर थापाले १८ मिनेट १९ सेकेण्डमा दौड पुरा गरी पहिलो हुँदा सोही उमेर समुहको ३ किमि दौडमा तोल माया थापा पहिलो बन्न सफल भएकी छन् ।
५ किमि भेट्रान्स दौडमा ठाकुर बहादुर थापा दोस्रो, नारायण श्रेष्ठ तेस्रो, बिक्रम महर्जन चौथो र गण बहादुर मगरले पाँचौस्थान हात पारे । ३ किमि महिला दौडमा चेतमाया पङ्गेनी, सिता पराजुली, बेनी गुरुङ, विष्णु माया गुरुङ क्रमश दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थान प्राप्त गरे ।
यस्तै ५ किमि मासिक नियमित दौड छात्रतर्फ १६ मिनेट ५९ः२५ सेकेण्डमा दौड पुरा गरी सुशन ढुंगाना पहिलो भएका छन् । त्यस्तै ईश्वर प्रजा दोस्रो, आयुष सुनार तेस्रो, प्रतिक वाग्ले चौथो र राजिब बस्तोला पाँचौ भए ।
यता छात्रा ५ किमि दौडमा एन्जिला जिटिले बाजी मारिन् । एन्जीलाले २१ मिनेट १६ः०४ सेकेण्डमा दौड पुरा गरी पहिलो भएकी हुन् । त्यस्तै रोशनी नेपाली दोस्रो, अनुषा बुढा तेस्रो, ममता नेपाली–चौथो, रुबी हमाल–पाँचौ भइन् ।
यस अघि सो दौडको शुभारम्भ पोखरा महानगर पालिका वडा नं ७ का अध्यक्ष राम मोहन आचार्यले गरेका थिए । कार्यक्रम नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा भएको थियो ।
विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष गुरूङ, मासिक दौडका संयोजक तेज बहादुर गुरूङ, मञ्चका निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुलीलगायतले मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।
