पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन काठमाण्डौको गोकर्णमा हुने

पोखरा स्पोर्ट्स । द स्केट ल्यान्डको आयोजनामा तथा नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघको सहकार्यमा आगामी असोज ४ गते गोकर्णमा पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन आयोजना हुने भएको छ ।

काठमाडौंको सुन्दरीजलस्थित आलापोटबाट सुरु भई गोकर्ण तालिमचोकमा सम्पन्न हुने प्रतियोगिता ५ किलोमिटर दूरीमा सम्पन्न हुनेछ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थापक अब्राहिम राईले नेपाल, भारत र दुबईका गरी करिब २ सय खेलाडीले सहभागिता जनाउने जानकारी दिए । यो प्रतियोगिता नेपालमा पहिलो पटक इनलाइन स्केटिङको राष्ट्रिय स्तरमा हुने खेल हो ।

प्रतियोगितामा स्वर्ण विजेताले ५० हजार रुपैयाँसहित स्केट सुज र सेफ्टी गियर प्राप्त गर्नेछन् । रजत विजेताले ३० हजार रुपैयाँसहित स्केट सुज, काश्य विजेताले १५ हजार रुपैयाँसहित सेफ्टी गियर पाउनेछन् ।

नेपालभर सञ्चालनमा रहेका करिब ३ सय भन्दा बढी स्केट पार्कका उत्कृष्ट खेलाडीहरू तथा भारतका ५० भन्दा बढी खेलाडीहरूले पनि प्रतिस्पर्धामा भाग लिने जनाइएको छ ।

आयोजनाको उद्देश्य नेपालमा स्केट खेलको विकास, युवालाई यस खेलमा आकर्षित गर्दै व्यावसायिक सम्भावना बढाउने रहेको आयोजकले स्पष्ट पारेका छन् ।

नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले स्केट मिनी म्याराथन भविष्यमा इनलाइन स्केटिङ र स्केटबोर्डिङलाई व्यावसायिक खेलको रूपमा स्थापित गर्ने आधारशिला बन्ने विश्वास व्यक्त गरे । उनका अनुसार नेपालमा हाल स्केटका १२ वटा विभिन्न इभेन्ट्स सञ्चालनमा छन् भने इनलाइन स्केटिङमा खेलाडीहरूको ठूलो सम्भावना रहेको जनाए ।

तर, नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघका अध्यक्ष खनालले स्केट पार्क खेलको विषय चासोका साथ उठाए पनि पोखरा रंगशालाको स्केटपार्क भने वेवारिसे अवस्थामा छ । विदेशी दाताहरु द्वारा निर्मित उक्त स्केट पार्कमा न त कुनै प्रतियोगिता हुन्छ न त प्रशिक्षण नै । त्यही स्केट पार्क देखाएर केही व्यक्तिहरु भने विदेश पलायन भएका छन् । यसतर्फ भने कसैले चासो दिएको छैन ।

तीन वर्षअघि स्थापना भएको द स्केट ल्यान्डका संस्थापक राईले आगामी दिनमा नियमित रूपमा यस्ता प्रतियोगिता आयोजना गर्ने योजना रहेको बताए । उनले भने, “हाम्रो लक्ष्य नेपालमा उत्कृष्ट खेलाडी उत्पादन गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराई पदक दिलाउनु हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close